नवनियुक्त न्यायाधीशहरू सुवेदी र कुमार चुडालले लिए शपथ

काठमाडौं, बैशाख ८ । सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरु नहकुल सुवेदी र कुमार चुडालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.ले नवनियुक्त न्यायाधीशहरु सुवेदी र चुडाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

न्यायाधीशद्वयले नेपाली जनता, संविधान र अन्य कानुनप्रति पूर्ण निष्ठावान रही सर्वोच्च अदालतको न्यायाधीश पदको जिम्मेवारी न्यायपालिकाको स्वच्छता र मर्यादा विपरित नुहुने गरी इमान्दारपूर्वक पालना गर्ने भनी ईश्वरको नाममा शपथ लिएका छन् ।

न्यायपरिषदद्वारा प्रस्तावित दुवै जनाको नाम संसदीय सुनुवाई समितिले गत शुक्रबार अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायाधीश पदमा नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्