काठमाडौं सिडिओ कार्यालयले निकाल्यो १३ बुँदे निर्देशन , अब के गर्न पाइने, के नपाइने ?

काठमाडौं, वैशाख ७ । कोरोना भाइरस संक्रमणले पछिल्लो पटक तिब्रता लिएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले १३ बुँदे निर्देशन जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निर्देशनमा सबै शैक्षिक संस्थाहरु बन्द गर्नेदेखि सिनेमा हल, पार्टी प्यालेस, जिम हल लगायतका मान्छेको भिडभाड हुने ठाउँहरु वैशाख मसान्तसम्म बन्द गरिने जनाइएको छ।

२५ जना भन्दा बढी भेला हुन नपाइने, मठमन्दिरमा पूजा तथा प्रार्थना गर्दा स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्नेरगराउने पनि सीडीओ कार्यालयले जारी गरेको निर्देशनमा उल्लेख छ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न भन्दै सिडिओ कार्यालयले निकालेको १३ बुँदे सूचनामा विभिन्न सुरक्षा मापदण्ड अपनाउन अपील गरिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रका आधारमा प्रशासन कार्यालयले भीडभाड नगर्न, अनिवार्य मास्कको प्रयोग गर्न, २५ जना बढी भेला नहुन आग्रह गरेको छ ।

सार्वजनिक सवारी साधनहरुमा पनि सिट क्षमताभन्दा बढी यात्रु नराख्न, यात्रुवाहक सवारी साधनमा चालक र सहचालकले अनिवार्य मास्क र भाइजर लगाउन भनिएको छ ।

प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिए अनुसारको स्वास्थ्य मापदण्डको पालना नगरिए संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्