माधव नेपाल समूहको निष्कर्षः स्पष्टीकरण दिने, तर पार्टी नफुटाउने!
काठमाडौं , बैशाख ७ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ दिने निर्णय गरेको छ।
मंगलबार नयाँ बानेश्वरको अर्याल होटलमा बसेको सो पक्षको अनौपचारिक भेलाले स्पष्टीकरणको जवाफ दिने निर्णय गरेको हो। योसँगै नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण दिने तर पार्टी नफुटाउने निष्कर्ष निकालेको छ ।
बानेश्वरको एक होटलमा भइरहेको छलफलमा सहभागी एक नेताका अनुसार पार्टी एकताकै लागि आफूहरुले कदम चालेको तर्क गर्दैै स्पष्टीकरण दिने तर पार्टी फुटाएर नजाने विषयमा छलफल भएको जानकारी दिए ।
उनका अनुसार सबै नेताहरुले तोकिएको समयभित्रै स्पष्टीकरण दिने विषयमा छलफल भएको छ ।
ओलीले पठाएको स्पष्टीकरण पत्रमा नेपाल पक्षका नेताहरुले बेग्लै पार्टीको अभ्यास गरेको र पार्टी नै बेग्लै बनाएर अघि बढिरहेको आरोप लगाइएको छ।
व्यक्तिगत रुपमा स्पष्टीकरण सोधिएकाले सोहीअनुसार जवाफ दिने ठहर नेपाल पक्षले गरेको हो। सो पक्षले स्पष्टीकरणको जवाफ दिनुलाई कानुनी प्रतिरक्षाको रुपमा व्याख्या गरेको छ। कानुनी प्रतिरक्षा र राजनीतिक लडाइँ पनि लडिरहने निष्कर्षमा पुग्यौं, एक नेताले जानकारी दिए।
जवाफमा आफूहरुले दल नबदलेको र अर्को दल पनि नखोलेको प्रस्ट पार्ने बताइएको छ।















प्रतिक्रिया दिनुहोस्