दिल्लीमा एकहप्ता लकडाउनः घर फर्किनेको थामिनसक्नु भिड, नेपालमा विष्फोट हुने खतरा
काठमाडौं , बैशाख ७ । अहिले विश्वमै सबैभन्दा खतरनाक तरिकाले संक्रमण फैलिएको देश भारत हो । कोरोनाभाइरस संक्रमणको अनियन्त्रित रफ्तारले भारतमा अघिल्लो वर्षजस्तै स्थिति अहिले पनि आएको छ ।
राजस्थान, दिल्ली लगायतका राज्यमा लकडाउन, कैयौं राज्यमा कर्फ्यु र अन्य किसिमका कडाइ गरिएपछि भारतका ठूला सहर कोरोनाले गर्दा अस्तव्यस्त बनेका छन् । भारतमा एक दिनमै अढाइ लाखभन्दा धेरै संक्रमित थपिने क्रम केही दिनदेखि जारी छ । अस्पतालमा बेडको कमी, अक्सिजनको अभाव भइरहेको छ ।
समाचार एजेन्सी एएनआइका अनुसार लकडाउनको घोषणा हुन थालेपछि सडकमा गतवर्षको जस्तै दृश्य देखिन थालेका छन् । कामका लागि ठूलो संख्यामा बाहिरबाट गएका कामदारहरु घर फर्किनका लागि बाहिर निस्किएका छन् ।
दिल्ली, राजस्थान, गुजरात, महाराष्ट्र लगायतका राज्यबाट ठूलो संख्यामा मजदुरहरु घर फर्किंदै गरेका तस्वीरहरु सार्वजनिक भएका छन् । हजारौं मजदुरहरु घर जानका लागि हिँडेका छन् । भारतका ठूला सहरहरुमा घर फर्किनेहरुको चाप अघिल्लो वर्ष जस्तै छ । यस पटक सार्वजनिक सवारी त चलेका छन् तर यात्रुको अत्याधिक चापका कारण ठाउँ नपाएपछि मजदुरहरु पैदल नै घरतिर हिँडेका छन् ।
यसरी फर्किने मजदुरहरुमा ठूलो संख्यामा नेपालीहरु पनि छन् । गत वर्ष पनि भारतमा लकडाउन भएपछि यसैगरी फर्किएका मजदुरहरु कैयौं दिनसम्म सीमामै रोकिएका थिए । अहिले दिल्लीमा लकडाउन भएपछि त्यहाँबाट यता उत्तर प्रदेश र बिहारमा लकडाउन छैन । यता नेपालमा पनि लकडाउन नभएकोले यी मजदुरहरु ठूलो संख्यामा नेपाल प्रवेश गर्नेछन् ।
सीमामा जाँच गरेर संक्रमितलाई व्यवस्थित तरिकाले क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न सकिएको छैन । सीमामा जाँचकै प्रभावकारी व्यवस्था छैन । यस्तोमा सीमामा जम्मा हुने भिडमै एक अर्कामा संक्रमण फैलिने र ती संक्रमित नेपाल आएपछि नेपालमा समुदाय स्तरमा संक्रमण फैलिने जोखिम बढेको छ ।
दिल्लीमा एक हप्ताको लकडाउन घोषणा गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिजो लकडाउनको घोषणा गर्नेबित्तिकै त्यहाँको आनन्द विहार बस स्टेशन, रेलवे स्टेशनमा भिड जम्मा हुन सुरु भएको थियो । अहिलेसम्म भिड अनियन्त्रित भइसकेको छ । मजदुरहरुलाई अघिल्लो वर्ष जस्तै लकडाउन थप हुन सक्ने त्रासले सताएको छ ।
हिजो दिल्लीका मुख्यमन्त्री केजरीवालले लकडाउन घोषणा गर्दै यो सानो लकडाउन भएकोले मजदुरहरुलाई घर नजान आग्रह गरेका थिए तर मजदुरहरु तत्कालै घर जानका लागि निस्किए । राजस्थानमा १५ दिनको लकडाउन घोषणा गरिएको छ । राजस्थानको मिनी लकडाउन महाराष्ट्रको जस्तै भएको र यो ३ मेसम्म जारी रहनेछ ।
महाराष्ट्रमा पनि संक्रमण फैलिइरहेको छ र मजदुरहरु घर फर्किइरहेका छन् । यस्तै यता भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतमा अलपत्र पर्ने अवस्था आए नेपालीले दूतावासमा खबर गर्न अनुरोध गरेका छन्।
भारतमा यतिबेला दैनिक २ लाखभन्दा बढीको दरले कोरोना संक्रमित थपिरहेका छन्।कोरोनाविरुद्धको खोप कार्यक्रम जारी रहँदा पनि त्यहाँ झनै संक्रमितहरु तीव्र गतिमा बढिरहेका हुन्।
प्रतिक्रिया दिनुहोस्