नेपालमा पनि बढ्यो कोरोना: सरकारले गर्यो यस्ता कडा निर्णहरु , के गर्न पाइने के गर्न नपाईने ?
काठमाडौं , बैशाख ६ । पछिल्लो समय छिमेकी जिल्ला भारतमा कोरोना एकाएक बढेसँगै यसको असर नेपालमा पनि परेको छ । नेपालमा मृत्युदर र संक्रमयादर बढेपछि सरकारले यस बारे विभिन्न निर्णय गरेको छ । जस अनुसार सरकारले मास्क नलगाएकाहरुलाई सार्वजनिक कार्यालय र सवारीमा प्रवेश नदिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पास गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक सवारीमा मास्क अनिवार्य गरिएको छ ।
सिट क्षमता बराबर मात्र यात्रु राख्न पाइने र कुनै यात्रु मास्क नलगाइ आएमा बढीमा १० रुपैयाँ लिएर सवारी चालकरसहचालकले मास्क उपलब्ध गराउनु पर्नेछ । मास्क नलगाउनेलाई भने सार्वजनिक सवारीमा चढ्न नदिने निर्णयमा उल्लेख छ ।
यस्तै सार्वजनिक कार्यालय, डिपार्टमेन्ट स्टोर तथा सपिङ मलहरुमा पनि मास्क अनिवार्य गरिएको छ । मास्क नलगाउनेलाई कार्यालय र पसलमा प्रवेश दिइनेछैन ।
होटल तथा रेष्टुरेन्ट बेलुका ८ बजेसम्म मात्र चल्न पाउने
सरकारले होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने नियम ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारी रोकथामका लागि आदेश जारी गर्दै होटल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको हो ।त्यस समयपछि भने होम डेलिभरी मात्र गर्न पाइने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए ।
विवाहमा २५ जनामात्रै सहभागी हुन पाइने
सरकारले विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विवाह, ब्रतबन्ध जस्ता चाडपर्वमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने गरी आदेश जारी गरेको हो ।
विवाह र ब्रतबन्धमा पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । मेला, महोत्सव, जात्रा, पर्व र मलामीमा पनि २५ जना भन्दा बढी सहभागी हुन नपाउने मन्त्री गुरुङले बताए ।
वैशाख मसान्तसम्म सबै स्कुल- कलेजमा भौतिक कक्षा बन्द
सरकारले कोरोना संक्रमण गम्भीर बन्दै गएका काठमाडौँ, ललितपुर र भक्तपुरसहित मुख्य सहरमा सबै विद्यालय तथा कलेजसहित शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्म बन्द गर्ने आदेश दिएको छ।
कोरोना संक्रमण गम्भीर भएको भन्दै सरकारले मुख्य सहरका सबै शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो। उपत्यकाका सबै नगरपालिकाहरु, मेचीनगर, विराटनगर वीरगञ्ज, भरतपुर, पोखरा, जनकपुर, नेपालगञ्ज, धनगढी, सिद्धार्थनगर, इटहरी, बनेपा, धरान, दमक, राजविराज, धुलिखेल, वीरेन्द्रनगर, भीमदत्त नगरका सबै शैक्षिक संस्था बन्द गर्न सरकारले आदेश दिएको हो।
परीक्षा भने स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न पनि सरकारले आदेश दिएको छ।अन्य सहर तथा स्थानमा भने आवश्यकताअनुसार स्थानीय निकायले निर्णय गर्ने पनि सरकारले उल्लेख गरेको छ।
मन्त्रिपरिषद्को सोमबारको बैठकको निर्णय सञ्चारमन्त्री पार्वत गुरुङले सार्वजनिक गरेका हुन्।











प्रतिक्रिया दिनुहोस्