मन्त्रीपरिषद बैठकः शिक्षण संस्था,सिनेमा हल, डान्सबार बैशाख महिनाभर बन्द गर्ने निर्णय

काठमाडौं , बैशाख ६ । सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।

सोमवार बिहान बसेको मन्त्रीपरिषद बैठकले रात्रिकालीन व्यवसाय, सिनेमा हल, डान्सबार, क्लव, दोहोरी साँझ २०७८ वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

सभा जुलुस, दर्शकसहितको रंगशालामा हुने खेलकुद, जिमखाना, पार्टी प्यालेस, स्वीमिङ पुल, हाटबजारहरु जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न नसकिने स्थान पनि बन्द हुने भएको छ ।

रगंशालाको हकमा दर्शकरहित खेल गतिविधि सन्चालन गर्न पाइने उल्लेख छ । पछिल्लो समय नेपालमा कोरोना ह्वात्तै बढेको छ ।

५ जनाभन्दा बढी भेला हुन रोक

यस्तै सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ ।

यो आदेशअनुसार वैशाखभर पार्टी प्यालेसहरु बन्द हुनेछन् भने विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्