चट्याङ्ग लागेर तीन जनाको मृत्यु , आज पनि ठूलो हावाहुरी चल्ने, सुरक्षित रहन मौसमविद्को आग्रह

काठमाण्डौ , बैशाख ३ । गएराति देशका धेरै ठाउँमा हुरी बताससहित चट्याङ्ग परेको छ ।

वाग्मती, गण्डकी र सुदूरपश्चिमसहित प्रदेश(१ र २ मा ठूलो हावाहुरी चलेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

उहाँका अनुसार चट्याङ्गसहित यी क्षेत्रमा ठूलो हुरी बतास चलेको हो । अहिले प्रि(मनसुन सक्रिय भएकाले हुरी चलेको मौसमविद् मानन्धरले बताइन् । यस्तै चट्याङ्ग लागेर बाग्लुङ, स्याङ्जा र भोजपुरमा गरि तीन जनाको मृत्यु भएको छ ।

हिजो बेलुका परेको चट्याङ्ग लागेर बाग्लुङको तारखोला गाउँपालिका(२ सिलेका ४५ वर्षका खिमलाल कँडेलको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनको धौलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा राति १० बजे ज्यान गएको हो । प्रहरीका अनुसार गोठमा भैँसीको दूध दुहुँदै गर्दा उनलाई चट्याङ्ग लागेको थियो । यस्तै, स्याङ्जाको फेदीखोला गाउँपालिका(५ मा पनि चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ ।

घरमा बसिरहेका बेला चट्याङ्ग लागेर घाइते भएकी ३९ वर्षकी ईश्वरी लामिछानेको गण्डकी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । यसैबीच, भोजपुरको षडानन्द गाउँपालिका(८ निगुरेमा ६० वर्षकी मनमाया राईको पनि चट्याङ्ग लागेर ज्यान गएको छ ।

उनलाई पनि घरमै बसिरहेका बेला चट्याङ्ग लागेको थियो । यस्तै, आज र भोलि पनि बेलुकापछि ठूलो हुरीबतास चल्ने अनुमान गरिएको छ । मौसमविद् मानन्धरका अनुसार अबका केही दिन ठूलो हुरीबतास चल्ने सम्भावना छ । तर, पानी भने हल्का मात्रै पर्नेछ । प्रि(मनसुनमा दिउँसोपछि मौसम बद्ली भएर हावाहुरी चल्ने, चट्याङ्ग पर्ने र पानी पर्ने हुन्छ ।

गएरातिको ठूलो हुरीले वायुमण्डलमा थुप्रिएका धुलोका कणलाई केही उडाए पनि पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण फेरि बढ्ने सम्भावना छ । तुवाँलो, धुवाँधुलो र डढेलोका कारण वायु प्रदूषण बढेकाले पानी नपरेसम्म पूर्णरुपमा वायुमण्डल सफा नहुने मौसमविद्को भनाइ छ ।

चट्याङ्ग र ठूलो हावाहुरीको सम्भावना रहेकाले सुरक्षित रहन मौसमविद्ले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्