ओलीका कारण २०७७ साल असफल भयो : घनश्याम भुसाल
काठमाडौं, बैशाख २ । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण २०७७ साल असफल भएको बताएका छन् ।
प्रेस चौतारी नेपाल (माधव पक्ष) ले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा नेता भुसालले यस्तो बताएका हुन् । ओलीको कुर्सी मोह र अहंकारका कारण वाम गठवन्धनको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको र पार्टी पनि विभाजनतिर धकेलिएको उनले आरोप लगाए ।
नयाँ वर्ष २०७८ मा ओलीले गरेको गल्तीको क्षतिपूर्ति दिने गरी आफूहरु लागिपरेको भुसालको भनाइ रहेको छ ।पार्टीका नेताहरुलाई लखेट्दै महन्थ ठाकुरहरुसँग गठबन्धन गरेर सरकारमा टिक्ने प्रयास ओलीले गरिरहेको भुसालले बताए । भुसालले आउँदो चुनावसम्म पार्टीभित्र अन्तर संघर्ष गर्दै जाने बताएका छन् ।
ओलीकै कारण एउटै कमिटीमा रहेर अन्तर संघर्ष गर्ने अवस्था नभएकाले पार्टीभित्रै अन्तर संघर्ष गर्दै जाने बताए । आफूले समानान्तर नभई २०७५ जेठ २ अघिकै एमालेलाई पुनर्गठन गर्दै अघि बढेको बताए । अध्यक्ष ओलीको आफू कुर्सीमा रहिरहने तृष्णाले पहिले नेकपा र अहिले एमाले कमजोर बन्दै गएको भुसालले बताए ।
संसदको अंक गणितले वाम गठवन्धनको सरकार बन्ने सम्भावना अझै रहे पनि ओलीकै कारण त्यो सम्भावना टाढा धकेलिएको भुसालले बताए । सर्वोच्चको फैसलापछि फागुन २८ गते ओली पक्षले गरेको एकलौटी निर्णयले नै पार्टी विभाजनको रेखा कोरेको भुसालले औंल्याए ।















प्रतिक्रिया दिनुहोस्