सरकारले सुरु गर्यो मेरो कित्ता प्रणाली, अब नापी कार्यालयका काम अनलाइनबाटै
काठमाडौं, बैशाख २ । सरकारले घरमै बसेर नापी कार्यालयहरुको काम मेरो कित्ताबाट गर्न सकिने व्यवस्था सुरु गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नापी कार्यालयहरुबाट प्रदान गरिने सेवा अनलाइनबाटै गर्न सकिने प्रणालीको शुभारम्भ गरेका छन् ।सरकारले ‘नेपाल ल्याण्ड इन्फरमेसन सिस्टम’मार्फत नक्सा प्रिन्ट, फिल्डबुक प्रिन्टलगायतको सेवा घरमै बसेर उपलब्ध गराउन लागेको हो।
नापी कार्यालयहरुबाट प्रदान गरिने सेवाहरु प्रविधिमैत्री, झन्झटरहित, चुस्त दुरुस्त, छिटो छरितो एवं प्रभावकारी बनाउनका लागि यो कार्यक्रम सुरु गरिएको सरकारले बताएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी र प्रविधि ल्याउने कुरामा सरकारको ध्यान भएको भन्दै मेरो कित्ताबाट नेपालमा जति कित्ता रहेका छन्, सबै घरमा बसेर हेर्न सकिने बताए।
ढिलासुस्ती कम गर्न मेरो कित्ता सुरुः तुम्बाहाङ्फे
यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण शिवमाया तुम्बाहाङ्फेले मालपोत तथा नापी कार्यालयबाट हुने ढिलासुस्ती कम गर्न मेरो कित्ता कार्यक्रम सुरु गरिएको बताएकी छन् । डिजिटल नेपालको अवधारणाअनुसार मालपोत तथा नापी कार्यालयमा पेपरलेस कार्यक्रमको रुपमा सुरु भएको उनले बताइन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले घरजग्गा कारोबारमा लाइन लाग्नुपर्ने बाध्यता हटाउन अनलाइन सेवा सुचारु गरिएको जानकारी दिए। उनले डिजिटल भेरिफिकेसनको लागि कहिलेकाहीँ उपस्थित हुनुपर्ला नभए सबै अनलाइनबाटै काम हुने बताए।
देशभर १२६ नापी कार्यालयमध्ये १८ कार्यालय अझै अनलाइन प्रणालीमा आउनसकेका छैनन्।
यो वर्षभित्र सबै कार्यालय अनलाइन प्रणालीमा आउने र कारोबार गर्न सकिने सरकारले बताएको छ।
काठमाडौं उपत्यकाका ३ ठाउँ कलंकी, डिल्लीबजार र भक्तपुरमा आजबाटै लागू भएको नापी विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी दिए।











प्रतिक्रिया दिनुहोस्