वैशाख ७ गतेदेखि कोरोना खोपको दोस्रो मात्रा दिइने

काठमाडौँ , चैत ३१ । कोरोना भाइरसविरुद्धको खोप अभियान अन्तर्गत पहिलो मात्रा लगाएकालाई आउँदो वैशाख ७ गतेदेखि दोस्रो मात्रा दिइने भएको छ।

सरकारले गएको माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सुरु गरेको थियो। पहिलो चरणमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसाफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा कर्मचारी, सार्वजनिक संस्थान र बैंक तथा वित्तिय संस्थानका कर्मचारीसहितले खोपको पहिलो मात्रा लगाएका छन्।

यसरी पहिलो मात्रा लगाएकाहरुलाई आउँदो वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्राको खोप दिइने बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले जनाएको छ।

खोप लगाउनका लागि केन्द्रहरु पनि तोकिएको र आफूलाई पायक पर्ने केन्द्रमा गएर खोप लगाउन निर्देशनालयले आग्रह गरेको छ। माघ १४, १५, १६, १७ र २६ गते खोपको पहिलो मात्रा लगाएकाहरुले वैशाख ७ गते तथा माघ १८, १९, २०, २१ र २७ गते पहिलो मात्रा लगाएकाहरुले वैशाख ८ गते दोस्रो मात्रा लगाउन पाउने छन्।

यस्तै माघ २२, २३, २४, २८ र फागुन २ गते पहिलो मात्रा लगाएकाले वैशाख ९ तथा माघ २९ र फागुन ३, ४, ५ र ६ गते पहिलो मात्रा लगाएकाहरुले वैशाख १० गते दोस्रो मात्राको खोप लगाउन पाउने छन्।

वैशाख ११ गते दोस्रो मात्राको खोप गएको माघ ३० र फागुन ७, ८, ९ र १० गते पहिलो मात्रा लगाएकाहरुलाई लगाइने जनाइएको छ ।

तोकिएका केन्द्रहरुमा बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप लगाउन पाइने छ। यता आजबाट चीनले दिएको कोरोनाको खोप लगान सुरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस्