भारतमा एकैदिन थपिए १ लाख ५३ हजार संक्रमित
काठमाडौं, चैत २९ । भारतमा कोरोना भाइरसबाट एकै दिनमा डेढ लाखभन्दा बढी संक्रमित भएका छन् ।
एकै दिनमा यति धेरै संक्रमित भएको यो पहिलो पटक भएको स्वास्थ्य अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक लाख ५२ हजार ८७९ जना संक्रमित भएका हुन् ।
भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा तिव्र बृद्धि हुँदै आएको छ भने पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी संक्रमित भएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल संक्रमितको सङ्ख्या एक करोड ३३ लाख ५८ हजार ८०५ पुगेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट संक्रमित भएका मध्ये ८३९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख ६९ हजार २७५ पुगेको छ ।
भारतमा ११ लाख आठ हजार ८७ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यसअघि गत शनिबार एकै दिनमा एक लाख ४५ हजार ३८४ जना संक्रमित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्