मिलेर सरकार बनाउने कांग्रेसको प्रस्तावको माओवादीद्वारा स्वागत
काठमाडौं, चैत २७ । नयाँ सत्तासमिकरण बारे छलफल गर्न बसेको तीन दलको बैठक भर्खेरै सकिएको छ । बैठकमा नेपाली कांग्रेसले प्रतिपक्षी दलहरुसँग मिलेर सरकार बनाउन प्रस्ताव गरेको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित तीन दलीय बैठकमा कांग्रेस सभापति देउवाले माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुसँग ओलीलाई सरकारबाट हटाएर तीन दलको सरकार बनाउन प्रस्ताव गरेका हुन्।
देउवाको प्रस्तावको माओवादी केन्द्रले स्वागत गरेको छ।माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा देउवाले मिलेर सरकार बनाउन प्रस्ताव राखेको र आफूहरुले प्रस्तावको स्वागत गरेको जानकारी दिए।
नेता नारायणकाजी श्रेष्ठका अनुसार कांग्रेसले पहिलो पटक राखेको यो प्रस्तावमा जसपाले पनि विचार गरेर जवाफ दिने बताएको छ।बैठकपछि कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले पनि सभापति देउवाले राखेको प्रस्तावको माओवादीले स्वागत गरेको बताए।
जसपाका नेताहरुले बैठकमा सरकारले आफ्ना नेताहरुलाई लगाइएको मुद्दा फिर्ता लिने आश्वासन सरकारले दिएको बताएका थिए।
नेता श्रेष्ठले कांग्रेसले यो निर्णय अझै छिटो गरोस् भन्ने आफूहरुको चाहना रहेको तर कांग्रेसको निर्णय ढिला आएको बताए।उनले आफूहरुको समर्थन सरकारलाई नभएको पनि बताए।
बैठकपछि जसपा अध्यक्ष महन्थ ठाकुरले कांग्रेसले मिलेर सरकार बनाउने प्रस्ताव गरेको भन्दै आफूहरुले यसबारे पार्टीमा थप छलफल गरेर जवाफ फर्काउने बताए।















प्रतिक्रिया दिनुहोस्