म नै प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन, पहिला मान्छे तयार पारौँ न , संख्या पुग्नुपर्यो नि: देउवा
काठमाडौं , चैत २७ । नयाँ सरकार गठनका लागि सहमति जुटाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् । देउवा निवास बुढानिलकण्ठमा अहिले ३ बजे बस्ने गरी बैठक बोलाइएको छ ।
बैठक बोलाइरहदा देउवाले आफू नै प्रधानमन्त्री हुनुपर्छ भन्ने कुरा नभएको बताएका छन् । निजामती कर्मचारी युनियनको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘ मैले आफ्नै पार्टीको प्रधानमन्त्री पनि चाहेको छैन । तर संख्या पुग्नुपर्यो नि । जोसुकै होस् । पहिला मान्छे तयार पारौँ न । संख्या पुग्नुपर्यो नि ।’
आफू सत्ता निर्माणको खेलमा नभए पनि सरकार नेतृत्वका लागि पार्टीले अगाडि सारेकोमा उनले पार्टीलाई धन्यवाद दिए ।
‘सरकार बनाउन अग्रसर किन नहुने नि । कसलाई बनाउने हो म तयार छु । म आफू नै हुनुपर्छ भनेको पनि छैन । म नै हुनुपर्छ कहाँ भनेको छु मैले ?’ उनले भने ।
उनले अगाडि भने, ‘भोलि मन्त्रिमण्डल बनाउने कुरामा लडाइ झगडा होला । सबैलाई मन्त्री चाहियो । सबै साथीहरुले शेरबहादुर केही गरेन भनेपछि आज बैठक बोलाएको छु ।’
साथै उनले चुनावमा जानुपर्ने बाध्यता हुन सक्ने बताउँदै चुनावमा गएर जितेर हाम्रो सरकार बनाउनु पर्ने उनको भनाइ रहेको थियो ।
यस्तै उनले पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई वास्तविकताको धरातलमा बसेर कुरा गर्न पनि आग्रह गरेका छन् ।
यता देउवाले आजको बैठकमा कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को बैठक बोलाएका हुन् ।















प्रतिक्रिया दिनुहोस्