सांसद पद गुमाएका चारै नेता फेरि मन्त्री , आजै शपथ गराइने
काठमाडौं, चैत २७ । सांसद पद गुमाएका चार जना नेता फेरि मन्त्री नियुक्त भएका छन्। माओवादी केन्द्र छाडेर हालै एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका हुन् ।
उनीहरूलाई आजै पद तथा गोपनीयताको शपथ गराइने भएको छ। शपथ कार्यक्रम साँझ ५ बजे तोकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।हालै एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका उनीहरुलाई नेकपा माओवादी केन्द्रले दलबाट निश्कासनको कारबाही गरेको थियो ।
राजनीतिक दलसम्बन्धी ऐनमा सांसदलाई निर्वाचित भएको दलले निश्कासन गरेपछि सांसद पनिबाट पदमुक्त हुने व्यवस्था छ । पदमुक्त भएका उनीहरुलाई प्रधानमन्त्री ओलीले पुनः नियुक्तिका लागि सिफारिस गरेका हुन् ।
सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ । माओवादी केन्द्रले कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा वाचन गरेपछि चारैजना मन्त्रीको सांसद पद खारेज भएको थियो भने सांसदहरुको हैसियतमा पाएको मन्त्री पदबाट पनि पदमुक्त भएका थिए ।















प्रतिक्रिया दिनुहोस्