ओलीले पार्टी फुटाउने काम मात्रै गरे , उनलाई साथ दिनेहरू दास हुन् : माधव नेपाल

काठमाडौं, चैत २७ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी फुटाउने काम मात्रै गरेको आरोप लगाएका छन् ।

आज मोरङको विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता नेपालले यस्तो आरोप लगाएका हुन् । उनले ओलीले पार्टी फुटाउने काम मात्रै गरेको र उनी निकटहरु खुशी भइरहेको बताए ।

आफूहरू सबैलाई मिलाउने काममा लागिरहेको बताउँदै उनले यस्तो तर्क गरेका हुन् । निर्वाचनले मात्रै सबै विषयको निकास नदिने उनको भनाइ छ । नेपालले मुलुकको राजनीतिक निकासका लागि निर्वाचनमा गइहाल्ने बेला नभएको बताए ।

उनले ओली अहिले पार्टीभित्र अल्पमतमा परेकाले अन्य केही उपाय छ कि भन्ने खोजीमा रहेको सुनाए । ओलीले विधानविपरीत काम गर्दै आएको उल्लेख गर्दै नेता नेपालले उनलाई साथ दिनेहरू दास भएको दाबी गरे उनले ओलीको पक्षमा बहुमत नभए पनि को टिपण्णी गरेका छन् ।

नेता नेपालले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै २०७५ साल जेठ २ को अवस्थामा पार्टी फर्किनु पर्ने बताएका छन् । नेता नेपालले २०७५ साल जेठ २ गतेमा प्रधानमन्त्री केपी ओलीलगायत अष्टलक्ष्मी शाक्य, वामदेव गौतम, भीम रावल, युवराज गौतम सबै निर्वाचित रहेको बुझ्नु आवश्यक रहेको बताएका हुन् । सबैको पद समाप्त हुने र ओलीको पद कायम रहनै नसक्ने नेपालको भनाइ थियो ।

गलत प्रवृत्तिको मूलवाहक ओली प्रवृत्तिबाट देशले मुक्ति पाओस् भन्ने चाहनाले पार्टीका नेता तथा कार्यकर्तामा आशा जगाउन एकताबद्ध अभियानमा अघि बढेको नेपालले बताए ।

पार्टीमाा कारबाही भएपछि सबै नेता तथा कार्यकर्तालाई निराश र हतास नभई पार्टीमा लागिरहनका लागि एकताबद्ध गरिरहेको नेपालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्