छिमेकमा कोभिड संक्रमण बढ्यो, अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्छः प्रधानमन्त्री

काठमाडौं , चैत २६ । छिमेकी देश भारतमा कोरोना बढेसँगै नेपाल पनि जोखिममा परेको छ । यसरी भारतमा एकाएक दिनानुदिन संक्रमित बढ्दा नोलमा पनि डर र त्रास उत्पन्न भएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।

उनले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सीमानाका कारण नेपालमा पनि जोखिम बढेको भन्दै सचेत बन्न आग्रह गरे ।

उनले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने भएकाले सबैले सचेत भई सावधानीका उपायहरु अपनाउनुपर्ने बताए ।

भौतिक दुरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने उनको भनाइ रहेको छ ।प्रधानमन्त्री ओलीले तातो पानीको बाफ लिने, नुन पानीले कुल्ला गर्ने बानी बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि बताएका छन् ।

कोभिड–१९ विरुद्धको खोपले पनि सतप्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबैभन्दा सुरक्षित विधि रहेको उनले बताए ।यसैगरि फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले उद्योग व्यवासयलाई सरकारले दिने सेवामा एकद्धार प्रणाली लागू गरिएको बताए ।

यस्तै उनले कर्मचारीतन्त्रमा हुने प्रक्रियागत झन्झटलाई पनि समाधान गर्दै सरलीकृत बनाउँदै लग्ने प्रतिवद्धता पनि व्यक्त गरे ।प्रधानमन्त्री ओलीले उपभोग्य वस्तु आयात गर्नु भन्दा लगानी र प्रविधि आयात गरी नेपालमै उत्पादन बढाउने र निर्यात गर्ने काम गर्न व्यवसायीहरुलाई आग्रह गरे ।

कोभिडका कारण नेपालको पर्यटन क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको र अर्थतन्त्रमा धक्का भएको भएपनि उठनै नसक्ने गरी भने असर नपरेको बताए ।  अन्य मुलुकको तुलनामा नेपालको अर्थतन्त्रमा कोभिड–१९ को प्रभाव कम परेको दावी पनि प्रधानमन्त्री ओलीले गरे ।

प्रतिक्रिया दिनुहोस्