प्रतिनिधिसभा विशेष समय : सत्तापक्षको प्रतिरक्षा, प्रतिपक्षको आरोप

काठमाडौँ , चैत २३ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसदहरूले सरकारले स्वाधीनता, विकास र समृद्धिका यात्रामा तीन वर्षमा ऐतिहासिक उपलब्धि हासिल गरेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सरकारका काम कारवाहीको प्रतिरक्षा गर्दै पछिल्ला उपलब्धिको प्रशंसा गर्नाका साटो विरोधका लागि विरोधमात्र गरेको बताए ।

उनले भने , “वर्तमान सरकार बन्नु अघिसम्म राजनीतिमा मात्रै सीमित छ, राष्ट्रिय विकास र स्वाभिमान एजेन्डा बनेको थिएन, बाटा, सिँचाइ, विद्यालय, पुल मात्रै होइन, समृद्ध नेपाली र सुखी नेपालीको राष्ट्रिय अभियान ठीक ढङ्गबाट अघि बढिरहेको छ ।” सत्य विनाको राजनीतिले सही गन्तव्यमा पुग्न नसक्ने बताउँदै उनले मुलुकलाई विकासको मार्गतर्फ उन्मुख नगराउने हो भने राजनीतिक दल हुनको के अर्थ रह्यो भने ।

पूर्वमन्त्री बाँस्कोटाले भने, “विकास र समृद्धिको यात्रमा संसारसँगै हिँड्न चाहन्छौँ भने सम्भावना र चुनौतीलाई मनन गर्नै पर्छ, सन्त नेता कृष्णप्रसाद भट्टराईले देखेको सपना केपी ओलीको नेतृत्वको सरकारले पूरा गरेको छ, मेलम्चीको पानी काठमाडौं ल्याइएको छ, मुलुकका विभिन्न भागमा रेलसेवा विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार हुँदैछ ।”

सरकारले गरेका उपलब्धि र विकासलाई देख्न नसक्ने हो भने आँखामा लाउने चस्मा र कानमा रुवा हाल्न सुझाव दिँदै उनले भने, “समर्थन फिर्ता लिन र विकल्प प्रस्तुत गर्न नसक्ने पक्षले वर्तमान सरकारलाई काम चलाउ भन्न नसुहाउने तर्क गरे ।

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेल प्रधानमन्त्रीको कुनै पनि हालतमा सत्ता नछोड्ने कुर्सी मोहका कारण मुलुक लामो समयदेखि राजनीतिक अन्योलमा फसेको बताए । उनले भने, “सर्वोच्च अदालतको निर्णयपछि सरकारले एक खाले निकास दिनुपर्थ्यो, आफ्नो पछाडिको जनमत र संसदीय दलको समर्थन कस्तो छ भनेर प्रधानमन्त्रीले अब पनि विश्वासको मत लिन कि नलिने ? ”

नेपाल कम्युनिष्ट पार्टी (ओवादी केन्द्र) का सांसद शशी श्रेष्ठले नागरिकता राज्य र व्यक्तिको सम्बन्ध कायम गर्ने महत्वपूर्ण दस्तावेज भएकाले पहिचान स्थापित गर्ने यस्तो महत्वपूर्ण दस्तावेज सम्बन्धी विधेयक समितिबाट लामो समयअघि नै अघि बढेको भए पनि सदनमा यसबारे किन छलफल हुन सकेन भनी प्रश्न गरे ।

उनले भने, “नागरिकताको विषयमा समितिलाई दोष लगाउने कामप्रति गम्भीर आफ्नो असहमति छ, सदन शोक प्रस्ताव र सामान्य प्रतिवेदन पेश गर्ने कार्यमै अल्झिरहेको छ, यस्तो प्रवृत्ति अन्त्य हुनुपर्छ, संसद बोलाउनु भनेको सदन चलाउनु मात्रै होइन ।

जनता समाज पार्टीका नेता एकवाल मियाँले पथलैया– वीरगञ्ज करिडोरमा समयमै सडक निर्माण नहुँदा धुलोले वरपरका बस्तीमा समस्या परेकाले छिटो निर्माण सम्पन्न गर्ने वतावरण बनाउन सरकारको ध्यानाकर्षण गरे । उनले भने, “देशभरको शिक्षा क्षेत्रको अवस्था भद्रगोल छ, सरकारी विद्यालयका पूर्वाधार मात्र होइन पढाइएको गुणस्तर पनि खस्केको छ । विद्यार्थीको सङ्ख्याका आधारमा शिक्षकको दरबन्दीको व्यवस्था होस् ।”

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङ्देनले मुलुकको वर्तमान राजनीतिक अस्थिरताले गन्तव्य अन्योल बनाएको धारणा राखे । उनले भ, “हामी कहाँ जाने भनेर हिँडेका थियौं, कहाँ पुग्यौँ, हामीले अस्थिरताको सामना गरिरहेका छौँ, यसमा प्रणालीको पनि दोष छ । सरकार परिवर्तन वा नयाँ निर्वाचनबाट मात्र यो समस्या समाधान हुँदैन, त्यसका लागि नयाँ सम्झौता गर्नुपर्छ ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विश्व सम्पदाको सूचीमा रहेको चाँगुनारायण मन्दिर पानीको मुहान र बस्ती विस्तारले अप्ठेरोमा परेकाले सरकारले त्यसलाई जोगाउन समयमै ध्यान पुर्याओस् भने ।

नेकपा एमालेका दिलबहादुर क्षेत्रीले सरकारले १६५ निर्वाचन क्षेत्रमा रणनीतिक सडक शिलान्यास गरेकामा धन्यवाद दिँदै मुलुकलाई फलाममा आत्मनिर्भर तुल्याउन नवलपुरको फलाम खानी सञ्चालनका लागि विभिन्न काम भइरहेको बताए ।

नेपाली कांग्रेसका सांसद डिला सङ्ग्रौलाले सरकार लोकतन्त्रलाई प्रहार गर्दै सर्वोसत्तावादी बाटोतर्फ अघि बढेको आरोप लगाइन् । उनले भनिन्, “संसद्लाई बिजनेसविहीन बनाइएको छ, त्यो अवस्था अन्त्य गरियोस्, मेलम्ची खानेपानी कार्यान्वयन भएसँगै स्व कृष्णप्रसाद भट्टराईको योगदानलाई हामी सबैले स्मरण गर्नैपर्छ ।

नेकपा माओवादी केन्द्रका पूर्णकुमारी सुवेदीले बाँकेको नरैना लगायतका क्षेत्रमा भएका आगलागीका घटनाका पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गरिन् । जसपाका प्रमोद यादवले सबै सरकारी संयन्त्रको सदुपयोग गर्ने ढङ्गबाट भएका सरकारी अस्पताललाई सुव्यवस्थित गर्न सुझाव दिए ।

नेकपा एमालेका सांसद पदम गिरीले काठमाडौँवासीको तिर्खा मेटाउने काम सरकारले गरेको तथा विकासका सबै क्षेत्रको गति रफ्तारमा अघि बढिरहेको बताए ।

नेपाली कांग्रेसका उमा रेग्मीले काठमाडौँवासीको खानी पानीको चाहना र स्व कृष्णप्रसाद भट्टराईको योगदानको स्मरण गरिन् ।

सोही दलकै सांसद दिव्यराज भण्डारीले उपसभामुखको निर्वाचन नहुँदा वर्तमान सरकारले महिलाको हक हितमा किन चासो दिएन भनी चासो र जिज्ञासा उठेको बताए ।-

सदनलाई प्रभावकारी बनाउन सांसदको माग

मुलुकका विभिन्न भागमा भएका आगलागी, कोरोना सङ्क्रमण, रणनीतिक महत्वका सडक शिलान्यास, दशगजा क्षेत्रमा निर्माण गरिएको बाँध लगायतका विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले अग्नि पीडितलाई तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, कोरोना नियन्त्रणका लागि थप कदम चाल्न र दशग क्षेत्रको बाँध निर्माण भइरहेकामा त्यसलाई समयमै रोक्न सरकारसमक्ष आाग्रह गरेका हुन् । –रासस

प्रतिक्रिया दिनुहोस्