आधिकारिक एमाले हामी नै हौं , बामदेव गौतम पनि हामीसँगै आउनुहुन्छ : वरिष्ठ नेता नेपाल

काठमाडौं, चैत २२ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आधिकारिक एमाले आफूहरु नै भएको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेका वरिष्ठ नेता नेपालले कानुनी रुपमा एमाले आफ्नो नभए विकल्प खोजिने बताए ।

काठमाडौं जिल्लाको समानान्तर कमिटी घोषणा गर्दै नेपालले केपी ओलीले फाल्दैमा आफूहरु नफालिने बताए । उनले ओलीले नवौं महाधिवेशनमा जालझेल र षडयन्त्र गरेर अध्यक्ष जितेको र अहिले प्रधानमन्त्रीको फूर्ति लगाइरहेको आरोप लगाए ।

उनले भने, ‘कानुनी रुपले पार्टी कब्जा गर्नु बेग्लै कुरा हो, एमाले आधिकारिक हामी हौं । हामी यसैलाई आधिकारीक मान्छौं । कानुनले दिएन भने बेग्लै उपाय खोजौंला ।’ केपी ओली एमालेका पनि अधिकांश कमिटीमा अल्पमतमा रहेको दावी नेपालको छ । उनले आफूहरु ओलीसँग नझुक्ने बताए । साथै नेपालले आफू र बामदेव गौतम एकै ठाउँमा उभिने खुलासा गरेका छन् । उनले गौतमसमेत एकै ठाउँमा उभिएपछि आफूहरु सशक्त हुने दाबी गरे ।

बामदेव गौतमसमेत आएपछि आफूहरुको पक्षमा ९७ जना केन्द्रीय सदस्य रहने बताए । स्थायी कमिटीमा २२ मध्ये १२ जना आफूहरुको पक्षमा रहेको र पोलिटब्युरोमा ४४ मध्ये २४ जना पक्षमा रहेको दाबी गरे ।आफूहरु संगठनका हिसाबले कमजोर नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्