वरिष्ठ नेता पौडेल र जसपाका अध्यक्ष ठाकुरबीच भेटवार्ता, नयाँ सत्ता गठबन्धनका लागि भयो यस्तो कुराकानी
काठमाडौं, चैत २२ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन्।
आइतबार बिहान वरिष्ठ नेता पौडेल अध्यक्ष ठाकुरलाई भेट्न उनकै निवास हात्तिवनमा पुगेका थिए ।
पौडेल र ठकुरबीच समसामयिक राजनीति र नयाँ सत्ता समीकरण विषयमा छलफल भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए।
उनीह्रुबीच करिव एक घण्टा छलफल भएको उनले बताए।छलफलमा पौडेलले ठाकुरसँग कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बनृनुपर्ने भन्दै त्यसका लागि तीनै दलका शीर्ष नेता बसेर टुंगोमा पुग्न प्रस्ताव गरेका थिए। उनले तीन दलका बीचमा केही असहमति भए छलफलबाटै हल गर्न प्रस्ताव गरे।
पौडेलको प्रस्तावमा अध्यक्ष ठाकुरले आफू सकारात्मक भएको जवाफ दिएको अधिकारीले बताए। अध्यक्ष ठाकुरले छलफलमा कांग्रेसको निर्णय र माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिएकोबारे जिज्ञासा समेत राखेको बताइएको छ।
पौडेलले कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेको र त्यसमा माओवादी केन्द्र र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि सकारात्मक रहेको बताउँदै जसपासँग पनि नमिलेका विषय हल गर्न तयार रहेको बताएका थिए।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको थियो।
नयाँ सरकार गठनका लागि जसपालाई मनाउने जिम्मा पौडेलले लिएका र त्यसका लागि उनले जसपाका वरिष्ठ नेता राजेन्द्र महतोसँग यसअघि दुईपटक अनौपचारिक रुपमा छलफल गरिसकेको पौडेल निकट एक नेताले बताए।
यता जसपा अध्यक्ष ठाकुर सत्ता गठबन्धनमा कांग्रेस, माओवादीभन्दा केपी शर्मा ओलीसँगै सहकार्य गर्ने पक्षमा छन्। पछिल्लोसमय ओलीसँग निरन्तर छलफलमा रहे पनि पार्टीभित्रको विवादका कारण सरकारमा गइहाल्ने औपचारिक निर्णय भने गरेका छैनन्।















प्रतिक्रिया दिनुहोस्