सरकारले त्रिदेशीय कप फुटबलका विजेतलाई जनही चार लाख दिने
काठमाडौँ, चैत २० । सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही चार लाख दिने भएको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही रु चाररचार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो ।
नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरेका हुन् । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको छ ।
नेपाली खेलाडीको हौसला बढाउन प्रधानमन्त्री ओली दशरथ रंगशाला पुगेका थिए । नेपालको तर्फबाट दुवै गोल हुँदा प्रधानमन्त्री ओलीले उठेर ताली बजाउँदै खेलाडीलाई हौसला प्रदान गरेका थिए।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पनि विजेता खेलाडीलाई जनही एक लाख पुरस्कार दिने घोषणा गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्