आजदेखि उठ्ने भयो काठमाडौं उपत्यकाको फोहोर
काठमाडौँ , चैत २० । एक सातादेखि नउठेको काठमाडौं उपत्यकाको फोहोर शुक्रबारदेखि उठ्ने भएको छ । काठमाडौं महानगरपालिका र सिसडोलवासीबीच भएको वार्तापछि फोहोर उठाउने सहमति भएको हो ।
सिसडोलका स्थानीय बासिन्दाले फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समिति नै बनाएर विभिन्न माग राख्दै चैत १३ गतेदेखि फोहोर विसर्जनमा अवरोध गर्दै आएका थिए ।
सहमतिको मस्यौदा तयार भइरहे पनि फोहोर बोकेका गाडीलाई सिसडोलमा जान दिइसकेको शिक्षक व्यवस्थापन संघर्ष समितिका संयोजक अनिस शर्मा ढुङगानाले बताएका छन् । ‘सहमति भइसकेको छ, हस्ताक्षरका लागि मस्यौदा तयार भइरहेको छ,’ उनले भने, ‘फोहोरका गाडीलाई सिसडोल ल्याण्डफिल साइटमा जाने अनुमति दिइसकेका छौं ।’
सहमतिअनुसार महानगरपालिकाले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकालाई पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षमा तीन–तीन करोड रुपैयाँ दिने भएका छन् ।
प्रभावित क्षेत्रका विद्यालयहरुमा संघीय सरकारबाट स्थायी दरबन्दी आएपछि स्वतः हट्ने गरी तत्कालका लागि ५१ जना शिक्षकको खर्चका लागि महानगरपालिकाले अनुदान दिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्