माओवादी केन्द्र र जसपाका कारण नयाँ सरकार गठनको प्रक्रिया आरम्भ हुन सकेनः प्रवक्ता शर्मा
काठमाडौं , चैत १९ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा(माओवादी केन्द्र) र जसपाको कारण नयाँ सरकार बन्न नसकेको बताएका छन् ।
प्रवक्ता शर्माले नेकपा(माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता नगरेको अवस्था र जसपा वर्तमान सरकारलाई विस्थापन गर्ने विषयमा ठोस निर्णयका साथ नआएको कारणले नयाँ सरकार गठनको प्रक्रिया आरम्भ हुन नसकेको बताएका हुन् ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेर र जसपा गणितिय रूपमा एकढिक्का भएर उभिएमा मात्रै नेपाली कांग्रेसको नेतृत्वमा अथवा अरु कसैको नेतृत्वमा नयाँ सरकार बन्ने अवस्थाको सिर्जना हुने उनको भनाइ रहेको छ । यता माओवादी केन्द्रको आज बसेको बैठकले भने तत्काल नै सर्मथन फिर्ता नलिने निर्णय गरेको छ ।
जसपा पनि छलफलकै क्रममा रहेको छ ।वर्तमान सरकारले विश्वासको मत प्राप्त नगर्ने अवस्था भएको खण्डमा नयाँ सरकारको लागि ढोका खुल्ने र सत्ता समीकरणको विषय परिपक्व ढङ्गले जाने शर्माले बताए ।
माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको र जसपाले गणितीय रूपमा एकढिक्का भएर उभिने संकेत प्रष्ट अहिले सम्म गरेको छैन । यसेले पनि अहिले नयाँ सरकार बन्ने कुनै सुरसार भएको छैन । तर यहि अवस्थामा नेपाली कांग्रेस प्रधानमन्त्री पदको लागि तयार नरहेको प्रवक्ता शर्माले प्रतिक्रिया दिएका छन् ।















प्रतिक्रिया दिनुहोस्