ओलीले पार्टीलाई कम्पनीको रुपमा चलाए : नेता नेपाल

काठमाडौं, चैत १९ । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट पार्टी ध्वस्त बचाउनतर्फ लागेको बताएका छन् । बिहीबार कास्की जिल्ला कमिटी घोषणा सभालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन ।

अध्यक्ष ओलीले लाखौं कार्यकर्ता र जनताको अपेक्षा विपरित झण्डै दुईतिहाइको बहुमत हासिल गर्न सफल भएको कम्युनिष्ट पार्टीलाई टुक्र्याएर विध्वंश निम्त्याउन खोजेको आरोप उनले लगाए ।
नेता नेपालले पार्टी अध्यक्ष ओलीले विधि र पद्धतिमार्फत पार्टी सञ्चालन नगरी कम्पनीको रुपमा चलाएको औंल्याए ।

साथै नेता नेपालले ओलीको सर्वसत्तावादका विरुद्ध देशव्यापी समानान्तर संगठन बनाउने उद्घोष समेत गरेका छन् । उनले ओलीको ज्यादतीका विरुद्ध स्थानीय, जिल्ला, प्रदेश र केन्द्रीयतामा समानान्तर समिति बनाउने उल्लेख गरे ।

नेता नेपालले तत्कालै निर्वाचन हुने अवस्था आएपनि स्थानीय निकायदेखि केन्द्रसम्मै उमेदवार उठाउने समेत चेतावनी दिए ।साथै उनले चुनावका लागि मोहन वैद्यदेखि मोहनविक्रम सिंहसम्म कुराकानी भएको बताउँदै नेकपा एमालेका ८ लाख कार्यकर्तामध्ये ६ लाखभन्दा बढी आफूहरुसँग रहेको दावी गरे । उनले सबैलाई कारवाही गरेर देखाउन पनि केपी ओलीलाई चुनौती दिएका छन् ।

उनले ओलीले राज्यका अंग कब्जा गरिरहेको आरोप लगाउँदै प्रतिगामी शक्तिसँग समेत साँठगाँठ गरिरहेको आरोप लगाए । नेता नेपालले पार्टी अध्यक्ष ओलीको पछिल्लो समयमा बढेको अहमता र घमण्डले पार्टीको साख गिरेको टिप्पणी पनि गरे ।

प्रतिक्रिया दिनुहोस्