सच्चिने अन्तिम मौका दिँदै अध्यक्ष ओलीले गरे सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि निलम्बन

 

काठमाडौं, चैत १९ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी सदस्यताबाट निलम्बन गरेका छन्।

नेकपा एमालेले पार्टी हित र विधान विपरीत काम गरेको नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गरेको हो । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले उनीहरुलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।

एमालेले पाण्डे र भुसाललाई पार्टी विधान विपरित गतिविधि गरेको भन्दै स्पष्टिकरण सोधेको थियो । यसअघि ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बन गरेका थिए ।

चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय समिति बैठकले माधव कुमार नेपाल, भीम रावल , सुरेन्द्र पाण्डे र घनश्याम भुसालले पार्टी हित विपरित काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

पाण्डे र भुसालले मंगलबारमात्रै स्पष्टीकरण बुझाएका थिए । यता प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीद्वारा हस्ताक्षरित पत्रमा सच्चिनका लागि यो अन्तिम अवसर भएको उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्