प्रधानमन्त्री संसद्मा नदेखिनुको कारण सुरक्षा कि नैतिक खतरा ?: दिलेन्द्र बडू

काठमाडौं, चैत १८ । फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएपछि प्रधानमन्त्री ओली प्रतिनिधि सभाको कुनै पनि बैठकमा सहभागि भएका छैनन् । आजको बैठकमा पनि ओली सहभागी भएनन् ।

यसैबीच प्रधानमन्त्री ओली बैठकमा नआएको भन्दै नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले प्रश्न उठाएका छन् ।उनले प्रतिनिधि सभामा प्रधानमन्त्री केपी ओली अनुपस्थित भएको विषयमा प्रश्न उठाएका हुन् ।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री संसद्मा नआउनुको कारण सुरक्षा खतरा हो कि नैतिक खतराको महसुस भएर हो ? भन्दै प्रश्न पनि गरे ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि आफूमाथि सुरक्षा खतरा रहेको अभिव्यक्ति दिएका थिए । यसकै आधारमा उनले यस्तो प्रश्न गरेका हुन् । उनले प्रधानमन्त्रीमाथिको सुरक्षा खतराबारे गृहमन्त्रीले सदनलाई जानकारी दिनुपर्ने पनि माग गरेका छन् ।

प्रधानमन्त्रीले गम्भीर सुरक्षा खतरा रहेको र आफूमाथि कुनै पनि बेला आक्रमण हुने सार्वजनिक अभिव्यक्ति दिएको भन्दै उनले नेपालको सुरक्षा क्षमतामाथि प्रश्न उठ्ने गरैजिम्मेवार, असत्य र बनावटी अभिव्यक्ति किन दिएको भनि प्रश्न गरे । यसबारे स्पष्टीकरण आउनुपर्ने उनको भनाइ रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्