रेशम चौधरीलाई माफी दिनु हुँदैन , नाबालकसहित गरिएको हत्यालाई हामीले कदापी साथ दिँदैनौं

काठमाडौं, चैत १८ । जन्मकैदका दोषीलाई उन्मुक्ति दिने सरकारको तयारी छ । १९ बुँदे माग सम्बोधन गर्न सरकारले गृहमन्त्री रामबहादुर थापाको संगोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन पनि गरेको छ । समिति गठनसँगै हिजो मात्रै सरकारी वार्ता टोली र थरुहट संघर्ष समितिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।

समाजवादी पार्टीका सांसद रेशम चौधरीको रिहाइलगायतका मुद्दामा वार्ता गर्न सरकारी वार्ता टोली र संघर्ष समितिबीच गृह मन्त्रालयमा मंगलबार पहिलो चरणको वार्ता भएको हो । अहिले जसपा सरकारमा जाने चर्चा चलिरहेका बेला सरकारले सो वातावरण बनाउन वार्ता टोली बनाएर सहमतिको प्रयास गरेको बुझिएको छ ।

सरकारले माग पुरा गरेमा जसपाले ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने र सरकारमा जाने वातावरण बन्नसक्ने अनुमान गरिएको छ । यता राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले टिकापुर हत्या काण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई माफी दिन नहुने बताएकी छन्।

बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा समसामयिक विषयमा बोल्दै उनले सरकारलाई समर्थन दिलाउनका लागि टिकापुर हत्या काण्डको अभियोगमा सजाय पाइरहेका अभियुक्त रेशम चौधरीलाई माफी दिनु गलत हुने बताएकी छन्।

’एउटा दुई वर्षको नाबालकसहित गरिएका हत्या माफी लायक होइन’ उनले भनिन्, ’अहिले पूर्व नेकपाको फुटपछि कुनै पनि दलको बहुमत छैन, त्यो बहुमत दिलाउन रेशम चौधरीलाई माफी दिनु गलत हुनेछ।’
थारु समुदायको मुक्तिका लागि गरिएको आन्दोलनलाई हामी समर्थन गर्छौं तर नाबालकसहित गरिएको हत्यालाई हामीले कदापी साथ दिँदैनौं र दिनु पनि हुँदैन। रेशम चौधरीको मागलाई पूरा गर्न तर्फ लाग्नु मुर्खता हुने उनले बताइन्।

उनले अगाडि भनिन्, ’अहिलेपनि विभिन्न पक्षहरुबाट राजनीतिक मुद्दा भनेर यसलाई अगाडि बढाएको विचारलाई सहि मान्न सकिँदैन। रेशम चौधरीलाई माफी दिए कानून र न्यायको अवहेलना हुनेछ। अराजक र जघन्य अपराधका दोषीहरुलाई छाडिनु हुँदैन।’

टिकापुरवासीन्दाले भने घटनाका मुख्य दोषि उनैलाई नै बनाएका छन् । सरकारको यो कदमलाई उनीहरु मान्नेवाला भने छैनन् । अराजक र जघन्य अपराधका दोषीहरुलाई उन्मुक्ति दिए फेरि पनि आन्दोलन होला भन्न सकिन्न ।यसरी सरकारले आफ्नो स्वार्थ पुरा गर्न र सरकार टिकाइ रहन के अपराधीलाई माफी दिन मिल्छ त ?  अब धेरैको चासोको विषय छ जेलमा रहेका चौधरीलाई साचिकै के सरकारले माफी देला त ?

 

प्रतिक्रिया दिनुहोस्