केपी ओली त केही पनि होइनन् , गुटको अर्को नाम मात्र हो: नेता नेपाल

काठमाडौं , चैत १८ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू लोकतन्त्रको मूल्य मान्यताका लागि कटिबद्ध रहेको बताएका छन् ।

युवा संघ नेपाल केन्द्रीय कार्यालय उद्घाटन तथा पदभार ग्रहण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता नेपाल यस्तो बताएका हुन् । उनले जनताको मुक्तिका लागि आफूहरु निरन्तर लागिपर्ने पनि बताए ।

केपी ओली पार्टीभित्रको समस्या भएको भन्दै नेपालले आफू समाधान भएकाले केपी ओली एण्ड कम्पनीले आफूलाई गरेको कारबाहीको अर्थ नभएको प्रतिक्रिया दिए । नेता नेपालले भने, ‘केपी ओली त केही पनि होइनन् । न आन्दोलन न संगठन । केपी ओली भनेको गुटको अर्को नाम मात्र हो । माधव नेपाल समाधान हो ।’

उनले केपी ओलीसँग कुनै पनि हालतमा सम्झौता नगर्ने भन्दै आफूहरुले फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलालाई उचित नमानेपनि मान्न बाध्य भएको बताए । ०७५ जेठा भन्दा पहिलेको बिन्दुमा ओली आएमा र फागुन २८ को अवैधानिक कदमलाई फिर्ता लिएमात्रै ओलीसँग सहकार्यको सानो त्यान्द्रो बाँकी रहेको उनले बताए ।

नेपालले संगठन बनिसकेपछि सडकमा बसिरहने कुरा नआउने भन्दै देशभरीका कार्यकर्ताले के भन्छन् त्यही आधारमा अघि बढिने बताए । उनले केपी ओलीले आफूलाई निकाल्ने हैसियत नराख्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्