सरकार र थरुहट संघर्ष समितिबीच पहिलो चरणको वार्ता, के भयो कुराकानी ?

काठमाडौँ , चैत १७ । सरकारी वार्ता टोली र थरुहट संघर्ष समितिबीच पहिलो चरणको वार्ता भएको छ ।

समाजवादी पार्टीका सांसद रेशम चौधरीको रिहाइलगायतका मुद्दामा वार्ता गर्न सरकारी वार्ता टोली र संघर्ष समितिबीच गृह मन्त्रालयमा मंगलबार पहिलो चरणको वार्ता भएको हो ।

वार्तामा सरकारले गठन गरेको वार्ता टोलिका संयोजक गृहमन्त्री रामबहादुर थापा सहित सदस्यहरु प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सहभागी रहेका थिए भने थारुवान संयुक्त संघर्ष समितिका तर्फबाट संयोजक रुक्मिणी चौधरीसहित प्रेमलाल चौधरी, पदम नारायण चौधरी, चन्द्रबहादुर चौधरी र प्रभात चौधरी सहभागी भएका थिए ।

थारुवान संयुक्त संघर्ष समितिले टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनीराम चौधरी, सांसद रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता गरिनु पर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरूलाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोग लगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्नेसहितका १९ बुँदे माग राखेर उनीहरू आन्दोलनमा छन् ।

अहिले जसपा सरकारमा जाने चर्चा चलिरहेका बेला सरकारले सो वातावरण बनाउन वार्ता टोली बनाएर सहमतिको प्रयास गरेको बुझिएको छ । सरकारले माग पुरा गरेमा जसपाले ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने र सरकारमा जाने वातावरण बन्नसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्