स्वास्थ्य मन्त्रालयले भन्यो- लकडाउनबारे अहिले कुनै निर्णय भएको छैन

काठमाडौं , चैत ११ । पछिल्लो समय घट्दो क्रममा रहेको कोरोना संक्रमण दर फेरि बढ्न थालेको छ  । उता छिमेकी मुलुक भारतमा भाइरस संक्रमण दिनदिनै बढ्दो क्रममा छ । यसले गर्दा पनि नेपालमा फेरि जोखिम देखिएको हो ।

आज मात्रै कोभिड–१९ को थप संक्रमण रोक्न भन्दै नेपालमा लकडाउनको घोषणा भएको १ वर्ष पूरा भएको छ । गत वर्षको चैत ११ गतेदेखि लागू हुने गरी सरकारले चैत १० गते लकडाउन घोषणा गरेको थियो । झन्डै चार महिना लामो लकडाउन साउन ७ गतेबाट अन्त्य गरिएको थियो ।

फेरि पनि कोरोनाको दोस्रो लहरको त्रास हुने चिन्ता बढेको छ । छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेको छ र केहि राज्यमा लकडाउन घोषणा गरिएको छ । योसँगै नेपालमा पनि त्रास बढेको छ । धेरैले प्रश्न गर्न थालेका छन्, ‘नेपालमा के होला ? के फेरि लकडाउन होला त भने ।

यता यस विषयमा स्वास्थ्य मन्त्रालयले लकडाउनबारे अहिले कुनै निर्णय नभएको जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले संक्रमित संख्या उच्च भएमा परिस्थितीअनुसार निर्णय लिने बताए ।

पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर बढ्न थालेपछि नेपालमा पनि कोरोना महामारीको दोस्रो लहर आउने जोखिम बढेको भन्दै सीमावर्ती नाकामा हेल्थ डेस्कको व्यवस्था गर्न र आवश्यक सुरक्षा पनि सरकारले गर्ने सह–प्रवक्ता अधिकारीले जनाए ।

यस्तै चैत १५ र १६ गते मनाइने होलीलाई घरमै बसेर मनाउन पनि उनले आग्रह गरेका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने उनले बताए ।
कोरोना महामारीको दोस्रो लहर आउने जोखिम बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सुरक्षा निकायका प्रमुखहरुसँग भावी रणनीतिबारे छलफल गरेका छन्। यस्तै, गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टाइन र आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्