राष्ट्रपति भण्डारीलाई रातो कार्पेट, समकक्षी हमिदले गरे विमानस्थलमै स्वागत
काठमाडौं, चैत ९ । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका क्रममा बंगलादेशको ढाका पुगेकी छन् । पहिलोपटक मित्रराष्ट्र बंगलादेश पुगेकी नेपालकी राष्ट्रपति भण्डारीलाई उनका समकक्षी अब्दुल हमिदले विमानस्थलमै पुगेर पुष्पगुच्छासहित स्वागत गरेका छन्।
बंगलादेशी मिडियाहरुका अनुसार राष्ट्रपति हमिदले ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा सवा १० बजे स्वागत गरेका थिए।
बंगलादेशी राष्ट्रपति हमिदको निमन्त्रणमा दुई दिने राजकीय भ्रमणका लागि भण्डारी बंगलादेश पुगेकी हुन्।राष्ट्रपति भण्डारीको सम्मानमा बंगलादेशी सेनाले २१ तोपको सलामी दिएको थियो। सो क्रममा दुवै देशको राष्ट्रियगान बजाइएको थियो।
राष्ट्रपति भण्डारीसँगै उनकी छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सचिवहरु र नेपाल सरकारका वरिष्ठ अधिकारीहरु भ्रमणमा छन्।
विमानस्थलबाट राष्ट्रपति भण्डारी बंगलादेशको स्वतन्त्रता संग्रामका शहीदहरूको शालिकमा माल्यार्पण गर्न पुगेकी थिइन् ।
राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको निमन्त्रणा र बंगलादेशका राष्ट्रिय पिता बंगलाबन्धुको सयौं जन्मजयन्तीको अवसर पारेर बंगलादेश पुगेकी हुन् । नेपालको राष्ट्राध्यक्षबाट ४२ वर्षपछि बंगलादेशको राजकीय भ्रमण भएको हो ।
तत्कालीन राजा वीरेन्द्र शाहले सन् १९७८ मा बंगलादेशको द्विपक्षीय भ्रमण गरेपछि राष्ट्राध्यक्षका रूपमा नेपालबाट भ्रमण भएको थिएन ।















प्रतिक्रिया दिनुहोस्