भागरथी हत्या प्रकरणः अभियुक्त भट्टले फेरे बयान: भने- बुबा र भाइलाई मार्ने धम्कीपछि अपराध स्वीकारेँ
काठमाडौं , चैत ८ । बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्त दिनेश भट्टले यसअघिको बयान फेरेका छन् । अभियुक्त भट्टले आफूलाई जवर्जस्ती घटना कबोल गर्न लगाइएको दाबी गरेका छन्।
दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षीया भागरथीको बलात्कारपछि हत्या अभियोगमा दिपायलस्थित बालसुधार गृहमा रहेका दिनेशले शनिवार आफ्ना बुवासँगको भेटमा आफूले घटना नगराएको बताएका हुन्।
दिनेशले घटनामा आफ्नो संलग्नता नरहेको र डराइ धम्क्याएर साविती बयान दिन लगाएको बताएको उनका बुवा दीपकराज भट्टले बताए। दिनेशले अपराध अस्वीकार गर्दै अन्य दुई जनामाथि हत्या आरोप लगाएका छन्।
उनीहरुले बुवा र भाइलाई मार्ने धम्की दिएर अपराध स्वीकार्न लगाएको दिनेशको आरोप छ।बाइकमा रहेका दुई जनामध्ये एक जना वडा कार्यालयको कर्मचारी रहेको र अर्कोलाई नचिनेको दिनेशले बुवालाई सुनाएका थिए।
फोन सम्पर्कमा अपराध अस्वीकार गरेपछि दिनेशका बुवा उनलाई भेट्न शनिवार सुधार गृहमा पुगेका थिए। दिनेशको परिवारले यसबारे जानकारी पत्रकार सम्मेलन आयोजना समेत गर्ने भएको छ।
यता दिनेशको परिवारले दोषिलाई उम्काएर निर्दोषलाई फसाउने काम भएको दाबी गर्दै घटनाको सत्य, तथ्य छानविन हुनु पर्ने माग गरेको छ।
यसअघि घटनामा आफ्नो संलग्नता रहेको स्वीकारेका भट्टलाई जिल्ला अदालत बैतडीले पुर्पक्षका लागि बालसुधार गृहमा राख्ने आदेश दिएको थियो।
गत २१ माघमा विद्यालयबाट घर फर्कने क्रममा १७ वर्षीया भागरथीको बलात्कारपछि हत्या भएको थियो। २१ माघमा बेपत्ता भएकी भट्टको भोलिपल्ट घर नजिकैको लबलेक जंगलमा शव फेला परेको थियो।
यता एकातिर घटनामा संलग्न भएका अभियुक्त दिनेशबारे पत्ता लगाउने पाँच प्रहरी पुरस्कृत भइसकेका छन् । केहीको बढुवा समेत भएको छ । आरोपीले बयान फेरेपछि योघटना थप रहस्यमय बन्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्