होलीको चीर ठड्याइयो, देशभर होली विधिवत रुपमा सुरु
काठमाडौं, ८ चैत । होली एक विशेष पर्व हो । होली भन्नासाथ रंगिन भन्ने बुझिन्छ । यो पर्व आइतबारदेखि देशभर रंगहरूको पर्व होलीको विधिवत सुरुवात भएको छ । वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ८ः२६ मा तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात हुने धार्मिक मान्यता छ ।
चन्द्रमास अन्तर्गत् फाल्गुन महिनाको पूर्णिमाको दिन मनाइने होली पहाडमा चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइँदैछ । होलिकाको दहन र र कृष्ण लीलासँग सम्बन्धित यो पर्व आइतबारबाट विधिवत सुरु भएको छ ।
वसन्तपुरमा चीर ठड्याउनु अघि पशुपतिस्थित गोरखनाथको मन्दिरमा पृथ्वीनारायण शाहको गुर्जु पल्टनले सलामी दिएर मयलको रूखको शिर चढाएर पशुपति नाथमा मयलको हाँगा चढाउने चलन छ । बाजागाजा सहित पशुपतिनाथबाट उक्त पल्टन हनुमान ढोकामा पुगेपछि शुभसाइतमा वसन्तपुरा चीर ठड्याउने गरिन्छ ।
वसन्तपुरस्थित तलेजु मन्दिरका पुजारी उद्धव कर्माचार्यका अनुसार नासलचोकमा भगवान् कृष्णले गोपिनीसँग लीला गरेको प्रतिमा राखेर कृष्णलीलाको स्मरण गरिन्छ । आजको दिनदेखि होली एक अर्कामा सौहार्दपूर्ण रूपमा रंग लगाइदिने बाटो खुलेको कर्माचार्य बताए । करिब ३० फिट अग्लो उक्त चीरलाई राजधानीको धालसिक्व टोलका मानन्धरहरूले ठड्याउने गर्छन् ।
नेपाली सेनाको शार्दुलजङ्ग गुल्मको टोलीले श्लेषमान्तक वनबाट मयलको रुखको हाँगा ल्याएर चीर बनाई हनुमानढोका दरबारको मोहनकाली चोक, त्रिशूलचोक, नासलचोकमा पनि विभिन्न ध्वजासहितको चीर ठड्याइएपछि होलीको औपचारिक सुरुवात हुने चलन छ ।
रंगीचंगी कपडाहरू बाँधिएको तीन तले चीर फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व विधिवत रुपमा सकिन्छ ।




प्रतिक्रिया दिनुहोस्