संसदमा कांग्रेसको प्रश्न : अदालतले असंवैधानिक कदम भनेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्दैन ?

काठमाडौं, चैत ६ । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संसदमा प्रधानमन्त्रीको राजीनामाको माग गरेका छन्।

उनले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक कदम भनेर भनिसकेपछि प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै खाँणले सर्वोच्चले असंवैधानिक भनेको अवस्थामा प्रधानमन्त्रीले नैतिक उत्तरदायी हुनु पर्दैन भनेर प्रश्न गरे ।

प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै खाँणले भने ‘हामी सरकारको सदस्यको ध्यानाकर्षण गराउन चाहन्छौं, अदालतले असवैधानिक भनेपछि संविधान मान्छौं भन्ने सरकारले त्यो गल्तिको नैतिक उत्तरदायित्व लिनुपर्छ कि पर्दैन ? ।

उनले अहिलेको सरकार बनेदेखि नै संविधानमाथि प्रहार गर्न थालिएको बताए। सरकार बनेकै दिनबाट विचार अभिव्यक्तिमाथि प्रहार भएको, माइतीघरमा प्रदर्शन गर्न रोक लगाइएको र त्यसविरुद्ध अदालत जानुपरेको उनले स्मरण गरे।

सरकारले संस्कृति, परम्परा, विचार अभिव्यक्तिमा बन्देज लगाउन खोजेको भन्दै उनले त्यस्ता प्रवृत्ति खतरनाक भएको बताए।यस्तै उनले सरकारले नागरिकको गोपनीयता समाप्त गर्ने विधेयक ल्याएकोमा पनि आपत्ति जनाए।

कोभिडको महामारीमा गम्भीर छलफल गरौं, संक्रमण रोक्न छलफल गरौं भन्दा भूमिगत शैलीमा संसदको बैठक नै अन्त्य गरेको भन्दै उनले सरकारको आलोचना पनि गरे ।

सरकारको अधिनायकवाद, सर्वसत्तावादविरुद्ध र संविधानको रक्षाका लागि कांग्रेसले आन्दोलन गर्नुपरेको उनको भनाइ रहेको थियो ।

सरकारको असंवैधानिक कदम र अधिनायकवादको यात्रामा रोक्न सबैको समर्थन रहेको समेत उनले बताए।

प्रतिक्रिया दिनुहोस्