सार्वजनिक यातायातको भाडा बढाउन व्यवसायीको माग, भने – नबढाए साधन थन्क्याउन बाध्य हुनेछौं
काठमाडौं, चैत ५ । यातायात व्यवसायीहरुले यातायातको भाडा बढाउन माग गरेका छन् । उनीहरुले पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै चैत तेस्रो हप्तासम्म भाडा बढाउन सरकारसँग माग गरेका हुन्।
बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर भाडा बढाउन माग गरिएको हो । उनीहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङलाई ज्ञापन पत्र बुझाएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार महासंघले पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहेकोले यस्तो माग गरिएको हो ।
चैत तेस्रो हप्तासम्म भाडा नबढाए ब्यवसायीहरु सवारी साधन थन्क्याउन बाध्य हुने महासचिव सिटौलाले बताए।
महंगी बढे पनि २०६९ सालदेखि हालसम्म भाडा समायोजन नै नभएकोले भाडा समायोजन गर्न महासंघले सरकारलाई आग्रह समेत गरेको छ।
प्रतिक्रिया दिनुहोस्