जसपाका माग सम्बोधन गर्न प्रधानमन्त्री ओली सकारात्मक: लक्ष्मणलाल कर्ण

काठमाडौं, चैत ४ । जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफ्ना माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएको बताएका छन्। सिंहदरबारमा बुधबार संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

संविधान संशोधन, नागरिकता लगायत जसपाले उठाउँदै आएका मुद्दाहरुलाई संबैधानिक र कानूनी बाटोबाट सम्बोधन गर्नेमा प्रधानमन्त्री सकारात्मक देखिएको उनले बताए ।
राजनीतिक दलहरुबीच सरकार गठनको कसरत चलिरहेका बेला जसपाका नेता कर्णले आफूहरुका मागमा प्रधानमन्त्री ओली सकारात्मक देखिएको बताएका हुन्।

प्रतिनिधिसभा पुनर्स्थापना लगत्तै सर्वोच्च अदालतको फैसलाबाट एकीकरण भएका वामघटकहरु नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) र नेकपा (एमाले)मा फर्किएपछि दलहरुबीच सरकार गठनको कसरत तीब्र बनेको छ।उनले सबै दलहरुसँग छलफल चलिरहेकाले कार्यकारीणी समितिमा छलफल गरेपछि पार्टीले त्यसबारे अन्तिम निर्णय लिने बताए।

जसपाको नेतृत्वमा नयाँ सरकार गठन हुन लागेको हो? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले वर्तमान अवस्थामा जसपाको नेतृत्वमा सरकार बनाउन नहुने तर्क गरे। सरकारमा सहभागी हुनु, समर्थन गर्नु र सरकारको नेतृत्व नै लिने विषय भिन्न भिन्न भएको भन्दै उनले अरु दलको आड लिएर नेतृत्वमा पुग्न नहुने तर्क गरे।

प्रतिक्रिया दिनुहोस्