अमेरिकाको एटलान्टामा गोली चल्यो, आठ जनाको मृत्यु

काठमाडौं, चैत ४ । अमेरिकाको एटलान्टामा गोली चल्दा ८ जनाको मृत्यु भएको छ । अमेरिकको जोर्जिया राज्यका विभिन्न तीन वटा मसाज केन्द्रमा भएका आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको हो । प्रहरीका अनुसार मारिनेहरुमा धेरैजसो एसियाली मुलका महिलाहरु रहेका छन् ।

यता प्रहरीले तीन वटा मसाज केन्द्रमा भएको आक्रमणमा संलग्न रहेको आशंकामा एक २१ वर्षीय श्वेत जातिका पुरुषलाई पक्राउ गरेको छ ।

जोर्जिया राज्यमा केही समयदेखि एसियाली मुलका अमेरिकी नागरिक र उनीहरुले सञ्चालन गरेका व्यवसायमाथि शृंखलाबद्ध आक्रमण हुन थालेका छन् ।

चार जनाको जोर्जियाको राजधानी एटलान्टाको बाहिरी इलाका आर्कवर्थ नजिक योङ एसियन मसाजमा हत्या भएको प्रहरीले जनाएको छ । उक्त घटनामा मारिएकाहरुमा दुई जना एसियाली महिला, एक जना श्वेत महिला र एक जना श्वेत पुरुष रहेका छन् भने एक जना हिस्पानिक समुदायका व्यक्ति घाइते भएका छन् ।

एटलान्टा प्रहरी विभागले उत्तरपूर्वी एटलान्टाका दुई वटा व्यवसाय – गोल्ड मसाज स्पा र अरोमा थेरापी स्पा– मा आक्रमण भएको र त्यहाँ चार जना महिलाको हत्या भएको जनाएको छ । प्रहरीले मारिने चारै जना एसियाली मुलका महिलाहरु भएको बताएको छ ।

प्रहरीले उक्त तीनवटै आक्रमणमा रोबर्ट आरोन लोङ संलग्न रहेको आशंका गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्