जोशीको स्वास्थ्य अवस्था गम्भीर
काठमाडौ., ४ चैत । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।
मस्तिष्कघातपछि उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्था बिग्रदै गएको हो ।
जोशीलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको नर्भिक अस्पतालले जनाएको छ । ‘उहाँको अवस्था गम्भीर छ,’ अस्पतालका कम्युनिकेसन तथा पिआर प्रमुख सोमनाथ बाँस्तोलाले भने, ‘भेन्टिलेटरमा राखेर उपचार जारी छ।’
जोशीलाई गत फागुन १३ मा मस्तिष्कघात भएको थियो । केही दिनको उपचारपछि उनको स्वास्थ्यमा सुधार भएको थियो । तर पछिल्लो समय उनको स्वास्थ्य अवस्था बिग्रेको चिकित्सकहरूले जानकारी दिए ।
‘आफैंले श्वासप्रश्वास गरेपछि केही दिन भेन्टिलेटरको सपोर्टबिना राखिएको थियो। अवस्था बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखेका छा । हाल भेन्टिलेटरमै उहाँको उपचार जारी छ,’ बाँस्तोलाले बुधबार बिहान विज्ञप्ति निकालेर भनेका छन्।
डाक्टर राजिव झा नेतृत्वको चिकित्सक टोलीले जोशीको उपचार जारी राखेको छ ।




प्रतिक्रिया दिनुहोस्