राष्ट्रिय भेलामा प्रमुख अतिथिको रुपमा उपस्थित हुन ओलीलाई भट्टराईको निम्तो

काठमाडौं , चैत ३ । नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी पुरा भएको छ । अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णयका विरुद्धमा यो समुहले चैत ४ र ५ गते भेला बोलाएको छ ।

भेलमा २ हजार बढी नेता–कार्यकर्ता सहभागी हुने भएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा भेलाको बारेमा जानकारी दिएको छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईले सम्पूर्ण तयारी पुरा भएको भन्दै भेलामा पार्टी केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र पेश गर्दै पारित गरिने पनि जानकारी दिए ।

साथै भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि राष्ट्रिय भेलामा प्रमुख अथितिको रुपमा उपस्थित हुन निम्तो दिएका छन् ।

पत्रकारहरुसँग सवाल जवाफ गर्दै नेता भट्टराईले ओलीलाई यस्तो निम्तो दिएका हुन् । ‘म अध्यक्षज्यूलाई प्रमुख अतिथिको रुपमा निम्तो दिन चाहन्छु,’ भट्टराईले भनेका छन् ।

यता प्रधानमन्त्री तथा अध्यक्ष ओलीले यस्तो भेला विधानविपरीत भएको बताउँदै नगर्न र नगराउन अनुरोध समेत गरेका छन् । साथै उनले भेलामा नजान समेत भनेकना छन् ।

यता पत्रकार सम्मेलनमा एमाले स्थायी समिति सदस्य तथा नेता सुरेन्द्र पाण्डेले एमाले एकतावद्ध बनाउनुको साटो पार्टी एकताको महत्व घटाउन खोजेको आरोप लगाए । उनले आफ्नो पक्ष एमाले एकताकै पक्षमा रहेको र त्यसको पुष्टि गर्न भेला बोलाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्