प्रधानमन्त्री ओलीले फागुन २८ गतेका निर्णयहरु खारेज गर्न मान्नु भएन, अनि कुरै मिलेन : भीम रावल
काठमाडौँ , चैत २ । एमालेका दुई समुहबीच भएको छलफल बारे एमाले नेता भीम रावलले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै उपस्थित नेताहरुले आ–आफ्ना कुराहरु राखेको बताए ।
सर्वोच्चको फैसलापछि अमिल्दो गरि गरिएका निर्णयहरु वैधानिक नहुने आफुहरुले धारण राखेको उनले बताए । बैठकमा अध्यक्ष ओलीले फागुन २८ गतेका निर्णयहरु खारेज गर्न नमानेको पनि नेता रावलले बताए । यता नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले पनि फागुन २८ गतेका निर्णयहरु खारेज गर्न नमानेको जानकारी दिएका छन् ।
एमालेका नेता रघुजी पन्तले अहिले छलफल जारी रहेको जानकारी दिदै पार्टीको विधान अनुसार नै अगाडी बढ्नुपर्ने आफुहरुले कुरा राखेको बताए । पन्तले अब शिर्ष नेताहरुबीच पनि भेटवार्ता हुनुपर्ने कुरा उठेको बताए ।
आजको बैठकमा ओली पक्षबाट अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा महासचिव इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सुबासचन्द्र नेम्वाङलगायतका नेताहरु छन् भने माधवकुमार नेपाल पक्षबाट नेता नेपालसहित नेताहरु भीम रावल, रघुजी पन्त, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतका नेताहरु सहभागी भएका थिए ।
आजको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र अर्का नेता वामदेव गौतमलाई भने सहभागी गराइएको थिएन । अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा दुवै पक्षबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री ओलीले नेता नेपालसँग एक्लै बालुवाटारमा भेट्न खोजे पनि नेता नेपालले आफुले सामुहिक रुपमा नै भेट्ने तर पार्टी कार्यालयमा भेट्ने भनेपछि बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा भेट भएको बताइएको छ ।
अध्यक्ष ओलीले एक पक्षीय निर्णय गर्दै माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय सदस्य बनाएपछि नेपाल पक्षले त्यसको विरोध गर्दै आएको छ । साथै अध्यक्ष ओलीले नेपाल पक्षका नेताहरुको जिम्मेवारी पनि खोसेपछि नेपाल पक्षले समानान्तर कमिटी बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्