सकियो माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक, के के भयो निर्णय ?

काठमाडौं, चैत १ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक सकिएको छ । बैठक भर्खेरै सम्पन्न भएको हो । बैठकमा विभिन्न ६ वटा एजेण्डाहरु तय गर्दै सकिएको छ ।
आजको बैठकमा पार्टीको वर्तमान अवस्थाका बारेमा प्रदेश कमिटीका इन्चार्ज तथा सहइन्चार्जहरुले रिपोर्टिङ गरेका छन् ।

जसअनुसार प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेको माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै आजको बैठकले विभिन्न ६ वटा एजेण्डाहरु पनि तय गरेको छ । जसमा पार्टी कमिटीबाट रिपोर्टिङ गर्ने देखि पार्टीको नाम परिवर्तन गर्नेसम्मका एजेण्डाहरु तय भएका छन् ।यस्तै नेकपा एमालेतिर लागेका सांसदहरूलाई पार्टीमा फर्काउन औपचारिक पत्र पठाउने भएको छ ।

माओवादी केन्द्रले शनिबार सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउनुका साथै स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । तर, दिएको २४ घण्टाको म्याद गुज्रिएपनि उनीहरू पार्टीमा नफर्किएपछि माओवादी केन्द्रले औपचारिक पत्र पठाउने निर्णय गरेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

एमाले र माओवादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्रका प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका गरी १३ सांसद एमालेतिर लागेका छन् ।त्यस्तै बैठक भोली पनि बस्ने छ । भोलीको बैठकमा केन्द्रीय सदस्यहरुले आ(आफ्नो धारणाहरु राख्ने नेता श्रेष्ठले बताए । बैठक भोलि ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्