सिंहदरबारमा सुरू भयो जसपा संसदीय दलको बैठक

काठमाडौं, फागुन २४ । जसपा संसदीय दलको बैठक सिंहदरबारमा सुरू भएको छ। पछिल्लो सयम जसपाका नेताहरु आन्तिरिक छलफलमा जुटेका छन् । हिजो मात्रै एमालेसंंग छलफल गरेका थिए । आज पनि निरन्तर छलफलमै ब्यस्त छन् ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर छलफल गरिरहेको जसपाको आजको संसदीय दलको बैठकमा मुख्यगरी दुइटा एजेन्डामा छलफल हुने बताएको छ । आजको बेठकमा संसदीय दलको विधान छलफलपछि पारित गर्ने र संसदीय दलको नेता चयन गर्ने एजेन्डा छन्।

आजको बैठकमा संसदीय दलको नेता छान्ने मुख्य एजेन्डा रहेको जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।त्यस्तै बैठकले पार्टीको संसदीय दलको विधान पारित गर्ने उनले बताए ।

राजपा र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन । जसपामा ३४ सांसद रहेकामा दुई जना निलम्बित रहेकाले हाल ३२ मात्र छन् ।

सत्ता साझेदारीका लागि निरन्तर परामर्शमा रहेको जसपाले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त छलफल सकारात्मक दिशामा केन्द्रित रहेको र आज थप छलफल हुने जसपा नेता लक्ष्मणलाल कर्णले बताए ।

जसपाले कैदीबन्दीको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधनलगायतको माग राख्दै आएको छ । पार्टीले संसदीय दलको बैठकपछि आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्दैछ । बूढानीलकण्ठस्थित देउवा निवासमा साँझ जसपाका शीर्ष नेताले भेटवार्ता गर्ने कार्यक्रम तय भएको जसपा नेता केशव झाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्