लामो समय लडेर ल्याएको परिवर्तन उल्ट्याउन चौतर्फी घेराबन्दी भयो : प्रचण्ड

काठमाडौँ, फागुन २८ । माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले लामो समय लडेर ल्याएको परिवर्तन उल्ट्याउन चौतर्फी घेराबन्दी भइरहेको बताएका छन् ।

शुक्रबार बुटवलमा राष्ट्रिय दलित पत्रकार संघको नेपालको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले लामो लडाइँ लडेर प्राप्त गरेका उपलब्धि र परिवर्तन उल्ट्याउन चौतर्फी घेराबन्दी भइरहेको भन्दै देशमा केही अनिष्ट हुँदैछ भन्ने आफुलाई संकेत मिलेको बताए ।

‘जो गणतन्त्र, संविधान र समावेशिताहरु मन पराउँदैनथे, उनीहरु मिलेर यो परिवर्तन उल्ट्याइ छाड्ने कसरतमा रहेको उनको भनाइ रहेको थियो ।

लडेर ल्याएको संविधान र गणतन्त्रविरुद्ध भएको कदम विरुद्ध शान्तिपूर्ण तरिकाले लड्न आफू तयार रहेको पनि उनले बताए ।

प्रतिगमकारीहरूको अझै पनि षडयन्त्र जारी राखेको भन्दै उनले त्यस्ता शक्ति विरुद्ध एकताबद्ध भएर लाग्न समेत आग्रह गरे ।

साथै उनले दलित, जनजाति तथा आम जनताको अधिकारको लडाइँमा आफू सदैव रहने बताए ।

प्रतिक्रिया दिनुहोस्