अन्तर्राष्ट्रिय महिला दिवसमा प्रदर्शनी

काठमाडौँ, २५ फागुन । मानव अधिकारका लागि महिला, एकल महिला समूहले १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा एकल महिलाको सामाजिक रुपान्तरणमा आधारित अभियानको अभिलेखिकरण कक्ष सञ्चालनमा ल्याएको छ ।
समूहले विगतमा देशका विभिन्न स्थानमा गरेका कार्यक्रम तथा विभिन्न समयमा एकल महिलाको अधिकार, सामाजिक सुरक्षाका विषयमा गरेका प्रयासलाई व्यवस्थित तरीकाले अभिलेख गरिएको छ ।

बुढानिलकण्ठस्थित कार्यालय परिसरमा मङ्गलबार स्थापना गरिएको उक्त कक्षमा एकल महिलाको सवलीकरण तथा सशक्तिकरणसँग जोडिएका सबै पक्षलाई समेटेर फोटो, सन्देशमूलक सामग्री राखिएको छ । त्यसैगरी संस्थाले गरेका उपलब्धीलाई संस्थागत विश्लेषण, देशका सबै जिल्लामा विस्तार गरिएका सञ्जालका साथै प्रादेशिक संरचनामा समूह सङ्ख्यालगायत राखिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिराज्यमन्त्री विमला विकले कक्षको अवलोकन गरी त्यहा राखिएका अभिलेखबारे जानकारी लिनुभयो । उहाँले संस्थाको संरक्षण तथा नेतृत्वमा एकल महिलाले गरेका प्रगतीको सराहना गर्नुभयो । स्थानीय महिलाले उत्पादन गरेका सामग्रीको समेत प्रदर्शनी गरिएको थियो । समुहका प्रतिनिधि राजीन रायमाझीले उक्त १ लाखभन्दा बढि एकल आवद्ध रहको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्