प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दै , यस्ता छन् कार्यक्रम
काठमाडौं, फागुन २२ । पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दै छ। बैठक ४ बजे बस्ने भएको छ ।
सर्वोच्चले संसद् बैठक राख्न दिइएको आदेशअनुसारे सातौं अधिवेशन सुरु गर्न लागिएको हो। यसका लागि संसद् सचिवालयले सम्भावित कार्यक्रमका सूची तयार पारेको छ।
जसअनुसार बैठकको सुरुवातमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन्। यस्तै राष्ट्रपति कार्यालयबाटै प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पनि पढेर सुनाइनेछ।अनि सभामुखको अनुमतिमा सभाको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिनेछ।
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ।
यसबीच वर्तमान तथा पूर्वसांसदको निधनप्रति शोक प्रस्ताव पनि पेस गर्ने कार्यक्रम छ।
तर बैठक सुरु हुनुअघिसम्म सम्भावित कार्यक्रम थपघट हुन सक्ने संसद् सचिवालयले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन घोषणा गरेकी थिइन्। तर यो कदम असंवैधानिक भनी दर्ता गरिएका दर्जनभन्दा बढी रिटको सुनुवाइ गर्दै सर्वाेच्च अदालतले यही फागुन ११ गते संसद् पुनर्स्थापना गरेको हो।















प्रतिक्रिया दिनुहोस्