शान्तिपूर्ण राजनीतिमा आउने चन्द समूहको निर्णयको दाहाल–नेपाल समूहले गर्यो स्वागत

काठमाडौँ , फागुन २१ । नेकपा दाहाल–नेपाल समूहले शान्तिपूर्ण राजनीतिमा आउने नेत्रविक्रम चन्द समूहको निर्णयलाई स्वागत गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णयलाई स्वागत गरेको हो । सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको सहमति र विप्लव शान्तिपूर्ण राजनीतिमा आउने निर्णयलाई स्वागत गरेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बिहीबार भएको सहमतिमा शुक्रबार विशेष कार्यक्रमका बीच हस्ताक्षर भएको हो । शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा सरकारी वार्ता टोलीका संयोजक तथा गृहमन्त्री रामबहादुर थापा र नेकपाका वार्ता टोलीका संयोजक तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन् ।

नेत्रविक्रम चन्द समूह नेतृत्वको नेकपामाथि दुई वर्षअघि लगाएको प्रतिबन्ध सरकारले बिहीबार फुकुवा गरेको थियो । सोही सहमतिलाई शुक्रबार विशेष समारोहकाबीच हस्ताक्षरसहित सार्वजनिक गरिएको हो ।सरकारले २०७५ फागुन २८ गतेबाट चन्द समूहको गतिविधिमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्