नेता भट्टराईले गरे दोभानका आगलागीपीडितलाई ५ लाख सहयोग
काठमाडौं, फागुन २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता योगेशकुमार भट्टराईले ताप्लेजुङको दोभानका आगलागीपीडित परिवारलाई रु पाँच लाख आर्थिक सहयोग गरेका छन् ।
आगलागी क्षेत्रको निरीक्षणपछि विस्थापित परिवारका लागि आज उनले मेरिङदेन गाउँपालिका अध्यक्ष गणेशबहादुर चोङ्वाङ लिम्बूलाई सो रकम हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा उनले आगलागीपीडितहरूको पुनःस्थापना र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन पहल गर्ने आश्वासन समेत दिएका छन् । यस्तै तीनवटै तहका सरकार र निर्वाचित जनप्रतिनिधिहरूको समन्वयमा आगलागीबाट हुने क्षतिको न्यूनीकरणका लागि आवश्यक योजना बनाउने पनि उाले प्रतिवद्धता व्यक्त गरे ।
यसैबीच प्रदेशसभा सदस्य होमकुमारी सावाँ लिम्बूले समेत आगलागीपीडित परिवारका लागि नगद रु ५० हजार सहयोग गरेकी छन् । गत मङ्गलबार आगलागी भएको थियो । आगलागिबाट दोभान क्षेत्रका ५० घर जलेर नष्ट भएका थिए भने ६३ परिवार विस्थापित भएका छन् ।
अहिले उनीहरूलाई विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका साथै व्यक्तिहरूद्वारा राहत वितरण गरिको छ ।
प्रतिक्रिया दिनुहोस्