प्रतिनिधिसभा बैठक बस्नुअघि भेटघाटमा व्यस्त सभामुख सापकोटा , कानुनमन्त्रीसँग छलफल

काठमाडौं , फागुन २१ । आइतबार प्रतिनिधिसभाको बैठक बस्दै छ । यसका लागि तयारी पनि भइरहेको छ । यता सभामुख अग्निप्रसाद सापकोटाले पनि प्रतिनिधिसभा बैठकका विषयमा परामर्श सुरु गरेका छन् ।

शुक्रबार सापकोटाले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठसँग छलफल गरेका छन् ।
आउँदो आइतबार बस्ने प्रतिनिधिसभा बैठकका विषयमा उनीहरुबीच छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

त्यस्तै, सभामुख सापकोटाले बिहीबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण र जनता समाजवादी पार्टीका नेता तथा संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णसँग छलफल गरेका थिए ।

सभामुख सापकोटाले विभिन्न राजनीतिक दलका नेताहरुसँग परामर्श गर्ने बताएका थिए । सोहीअनुसार उनले भेटघाट र परामर्श तीव्र पारेका हुन् ।गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो ।

सर्वोच्च अदालतले सो विघटन असंवैधानिक ठहर गर्दै बदर गरेको थियो । १३ दिनभित्र बैठक आह्वानका लागि सर्वोच्चको परमादेशपछि अब बैठक बस्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्