ओली र ‘विप्लव’ले आज एउटै मञ्चबाट संयुक्त रुपमा विशेष समारोहलाई सम्बोधन गर्दै

काठमाडौं , फागुन २१ ।प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आज संयुक्त रुपमा विशेष समारोहलाई सम्बोधन गर्दैछन् ।

सरकारी वार्ता टोली र विप्लव समूहबीच बिहीवार ३ बुँदे सहमति भएसँगै सोही विषयमा विस्तृत जानकारी दिन आज विशेष समारोहको आयोजना हुँदैछ ।

राष्ट्रिय सभागृहमा आज प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले दिउँसो २ बजे संयुक्त रुपमा सम्बोधन गर्नेछन् ।

बिहीवार भएको सहमतिअनुसार विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लागाइएको पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायतका विषय रहेका छन् ।

यसअघि बुधबार दुई चरण र बिहीबार बिहानको वार्तापछि ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

यसैबीच विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनेछन् ।सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति भएपछि आज चन्द सार्वजनिक हुन लागेका हुन्।

यो समुहलाई मूलधारको राजनीतमा फर्काउन सरकारले विभिन्न चरणमा अनौपचारिक वार्ता गरेपछि बुधबारदेखि औपचारिक वार्ता थालेको थियो ।

बुधबार र बिहीबार दुई दिन भएको वार्तामा भएको विस्तृत राजनीतिक सहमतिलाई शुक्रबार विशेष सर्वजनिक समारोह गरी सार्वजनिक गर्ने सरकारको तयारी छ ।

२०७५ साल फागुन अन्तिम साता गैरराजनीतिक क्रियाकलाप सञ्चालन गरेको, हिंसात्मक बाटो लिएको आरोप लगाउंदै सरकारले विप्लव समुहमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्