पार्टी फुट्न नदिन दोस्रो तहका नेता सक्रिय, पोखरेल र भुसालबीच सिंहदरबारमा छलफल

काठमाडौं, फागुन २० । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि आन्तरिक कलहले दुई समुहमा विभाजित भएको नेकपाका दोस्रो तहका नेताहरुले अहिले छलफललाई तीव्र पारेका छन्। उनीहरु पार्टी जुटाउने अन्तिम प्रयासमा जुटिरहेका छन् ।

प्रतिनिधिसभा पुनर्स्थापनापछि नेकपा विभाजित अवस्थामा छ तर औपचारिक विभाजन भने भइसकेको अझै छैन। दुबै समुहले एकअर्कालाई कारवाही गर्ने गरिरहेका छन् । यो प्रक्रिया चलीरहेको छ तर केही नेताहरु भने अझै पनि पार्टीलाई एकजुट राख्न प्रयासरत छन्। यसै क्रममा दुवै समूहका दोस्रो तहका नेताहरुले  आज सिंहदरबारमा बीच छलफल गरेका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रधानमन्त्री केपी शर्मा ओली पक्षका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलबीच आज अपरान्ह छलफल भएको छ ।

छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भुसालले पोखरेलसँग पहिलेदेखि नै छलफल भइरहेको र बिहीबारको भेटपनि त्यसैको निरन्तरता भएको जनाकारी दिएका छन् । छलफल एकतामै केन्द्रीत भएको बुझिएको छ।

सर्वोच्च अदातलले फागुन ११ गते प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय गैरसंवैधानिक भएको भन्दै बदर गरेपछि एकताको सम्भावना खोज्न दुवै पक्षका दोस्रो तहका नेताहरुले अनौपचारिक रुपमा छलफल गर्दै आएका छन्।

प्रचण्ड–नेपाल पक्षका घनश्याम भुसाल, वर्षमान पुन, योगेश भट्टराई र जनार्दन शर्मा तथा ओली समूहका महासचिव विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, संसदीय दलका उपनेता सुवास नेम्वाङ, पर्यटनमन्त्री भानुभक्त ढकालसहितका नेताहरुबीच छलफल भएको थियो।

छलफलमा सहभागी रहेका प्रचण्ड नेपाल समूहका नेताहरुले भने अन्य विकल्पको विषयमा छलफलमा प्रवेश गर्नुअघि नै प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने सर्त राख्दै आएका छन्। तर प्रधानमन्त्रीले नदिने अडान कायम गरेका छन् । विवादै विवादबाट ग्रस्त नेकपा संसद विघटन भएसँगै ओली र दाहाल पक्षले छुट्टाछुट्टै राजनीतिक अभ्यासलाई निरन्तरता दिदै आइरहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्