निर्वाचन आयोग पुगे दाहाल–नेपाल समूहका नेता , भने – आधिकारिकता विवाद छिटो टुंग्याउनु पर्यो

काठमाडौँ , फागुन २० । नेकपा विवादको अझै टुंगो लागेको छैन । दुई समुहमा विभाजित भएपछि नेकपा विवाद जस्ताको तेस्तै छ ।राजनीतिक दलको विवाद निरुपणमा निर्वाचन आयोगले ढिलाई गरेको भन्दै हिजो मात्रै पाँच जना पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले विवाद छिटो सुल्झाउन ध्यानाकर्षण गराएका छन् ।

यता आधिकारिकता विवाद छिटो टुंग्याउन माग गदै आज नेकपा दाहाल–नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । बुधबारमात्रै यो समूहको केन्द्रीय कमिटी बैठकले पार्टीको आधिकारिकता दिन ढिलाइ गरेको भन्दै निर्वाचन आयोगको भूमिकाप्रति गम्भीर आपत्ति प्रकट गरेको थियो ।

आयोगसमक्ष पार्टीले पुनः ध्यानाकर्षण र ताकेता गर्ने निर्णय पनि बैठकले गरेको थियो । त्यसैअनुसार दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डेलगायत नेता आयोग पुगेको यो समूहका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

बुधबारको बैठकमा केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र समेत संकलन गरिएको थियो । बैठकले आयोगको कार्यशैलीप्रति आपत्ति जनाउँदै राज्यको कानुन, नेकपाको विधान, लोकतान्त्रिक प्रणाली र मान्यताबमोजिम तत्काल निष्पक्ष एवं न्यायसंगत निर्णय गर्नपर्ने ठहर गरेको थियो ।

यो समूहले गत माघ २० मा राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ को प्रक्रियाअनुसार आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएको छ । तर आयोगले उक्त निवेदनमाथि के गर्ने भन्ने निर्णय गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्